काठमाडौं । जिल्लाको बुङ्गल नगरपालिका–६ बड्डी ज्यावनकी धनमती धामीलाई अचेल खानेपानीको चिन्ता हुँदैन । अहिले धनमतीले बिहान सबेरै उठ्नुपरेको छैन भने घरमा खानेपानी छ कि छैन भन्ने चिन्ता पनि छैन । ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाले सोलार लिफ्टिङ प्रविधिबाट गाउँमा खानेपानी पुर्याएपछि उहाँ मात्र होइन, गाउँलेकै दैनिकी फेरिएको छ ।
आयोजना निर्माण हुनुअघि गाउँभन्दा तलको खोलाबाट पानी बोक्नुपर्ने र वर्षातको समयमा वर्षाको पानी पिउनुपर्ने बाध्यता थियो । वर्षौँदेखि खानेपानीको समस्या झेल्दै आएका स्थानीयवासी घर अगाडि धारा जडान भएपछि खुशी छन् । पानी भर्नका लागि पालो कुर्नुपरेको छैन भने पानी भर्नकै लागि आधा रातमा उठ्नुपर्ने अवस्था पनि नरहेको उनले बताइन् ।
दुर्गाथली गाउँपालिका–५ बाजगडाकी धर्मा जप्रेललाई पनि आँगनमै खानेपानीको धारा बनेपछि हाइसञ्चो भएको छ । वर्षौँदेखि खोलाको पानी बोक्दै आउनुभएकी उनले गाउँमा बाजगडा सोलार लिफ्टिङ खानेपानी आयोजना बनेपछि दुःखका दिन हटेको बताइन । “अहिले आँगनमै पानीको धारा छ । न त बिहानै उठेर पानी भर्नुपरेको छ न एक गाग्री पानी भर्न दिनभर कुर्नुपरेको छ”, उनी भन्छिन्, “पहिले एक घण्टा हिँडेर खोलाबाट पानी ल्याउनुपर्ने बाध्यता थियो ।
सरसफाइमा पनि त्यति ध्यान दिन सकिएको थिएन । आफूलाई त बोकेरै पानी पिउन सम्भव थियो । गाईभैँसीलाई पनि बोकेरै पानी दिनुपर्ने अवस्था भएपछि हामीले पाउनसम्मका दुःख पायौँ ।” गाउँमा यसभन्दा पहिले खानेपानीको कुनै योजना आएको थिएन । अहिले पानी बोक्नुपर्ने दुःख हटेसँगै सरसफाइमा पनि ध्यान दिन थालेको उनले बताइन् ।
महिलालाई महिनावारी भएको बेला नुहाउनलाई एक घण्टा हिँडेर खोलामा जानुपर्ने बाध्यता थियो । पानी नहुँदा महिनावारी भएको समयमा विद्यालयसमेत नजाने गरेको खप्तडछान्ना–२ की पूजा सुनारले बताइन् । उनले भनिन्, “नुहाउन टाढा जानुपर्थ्यो । विद्यालय जाने समय पनि नुहाउनमै जान्थ्यो । महिनावारी भएका बेला सात दिनसम्म दिनहुँ नुहाउने, लुगा धुने गर्नुपर्छ, टाढाको धारा र मुहान जाँदा यता पढाइ छुट्छ ।” पानी नहुँदा महिनावारी भएका छात्रालाई समस्या हुने गरेको थियो । अहिले घरमै पानी पुगेपछि महिनावारी भएका बेला स्कूल छुट्ला भन्ने चिन्ता हुँदैन ।
दुर्गम गाउँमा सोलार लिफ्टिङ प्रविधिबाट खानेपानी आएपछि स्थानीयवासीले खोला र कुलाको फोहोर पानी पिउनुपरेको छैन । वर्षौँदेखि खानेपानीको समस्या झेल्दै आएका ग्रामीण क्षेत्रका बासिन्दा खानेपानी आयोजना निर्माण भएसँगै खुशी छन् । घरघरमा पानीका धारा भएपछि गाउँमा सरसफाइको क्षेत्रमा मात्रै नभई व्यावसायिक तरकारी खेती गर्नेहरूका लागि पनि सहज भएको छ ।
नेपाल सरकारको सहकार्यमा ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाको आर्थिक र सामाजिक तथा प्राविधिक विकास सेवा समूह बझाङको प्राविधिक सहयोगमा जिल्लाका दुर्गम बस्तीमा सोलार लिफ्टिङ प्रविधिबाट खानेपानी पुर्याइएको हो । जिल्लामा अहिलेसम्म १३ ठाउँमा सोलार लिफ्टिङ प्रविधिबाट आयोजना निमार्ण सम्पन्न गरी स्वच्छ पिउनेपानीको पहुँचमा पुर्याइएको सामाजिक तथा प्राविधिक विकास सेवा समूहका टोलीनेता कलक खत्रीले बताए।
परियोजनाअन्तर्गत जिल्लाका छविसपाथीभेरा, थलारा, दुर्गाथली, खप्तडछान्ना, तल्कोट, वित्थडचिर, केदारस्युँ गाउँपालिका, जयपृथ्वी नगरपालिका र बुङ्गल नगरपालिकामा गरी नौ स्थानीय तहमा लिफ्टिङ प्रविधिबाट खानेपानी आयोजना निर्माण भएका छन् । सोलार लिफ्टिङ प्रविधिबाट दुर्गाथलीमा पाँच, खप्तडछान्नामा एक, वित्थडचिरमा दुई, थलारामा दुई र बुङ्गल नगरपालिकामा दुईवटा आयोजना सम्पन्न भई प्रयोगमा आएको परियोजनाका इञ्जिनीयर लोकेन्द्र ओलीले बताए ।
उनले भने, “बस्तीभन्दा माथि पानीको मुहान नभएका ठाउँमा सौर्य ऊर्जा जडान गरीे लिफ्ट प्रविधिबाट पानी तानिन्छ । यसरी तानिएको पानी आठ हजारदेखि २० हजार घनलिटर क्षमताका आरविटी ट्याङ्कीमा जम्मा हुन्छ । सोही ट्याङ्कीबाट घरघरमा वितरण गरिन्छ ।” आयोजनाबाट हालसम्म विभिन्न स्थानीय तहमा एक हजार २०० घरधुरीका करिब सात हजार जनसङ्ख्या लाभान्वित भएको छ ।