काठमाडौं । सेयर बजारमा ठूला लगानीकर्ताले धमाधम सेयर उठाउन थालेपछि बजार उचालिएको छ । लगातार घटिरहेको बजारमा ठूला लगानीकर्ताले सेयर उठाउन थाले पछि बजार पुन उकालोतर्फ लागेको छ ।
निषेधाज्ञा÷लकडाउन हुने हल्लाले साना लगानीकर्ताले घाटा खाएर नै सेयर फ्याकेपछि बजार ओरालो लागेको थियो । सरकारको निर्णय पछि साना लगानीकर्ताले दुई दिनसम्म निरन्तर सेयर फ्याकेका थिए ।
कतिपय लगानीकर्ताले यही बेला नाफा बुक गरेर बस्न खोजेकाले पनि बजारमा केही करेक्सन आएको थियो । नाफा पनि बुक गरिसकेको र साना लगानीकर्ताले पनि सेयर फ्यालिसकेका छन् । त्यही सेयर ठूला लगानीकर्ताले किनेपछि बजार बुलिसतर्फ अघि बढेको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत केही कम्पनीहरुको नाफामा संकुचन आए पछि पनि त्यसको असर बजारमा परेको थियो । बैंक तथा वित्तीय संस्थाले सोचे अनुरुप नाफा निकाल्न नसकेकाले पनि बजारमा सेयर फ्याक्नेको जमात बढेको थियो ।
ठूला लगानीकर्ताहरु पनि यही कुरेर बसेका थिए । साना लगानीकर्ताले धमाधाम सेयर फाल्न थाले पछि मूल्य घट्छ र त्यही बेला भएभरको सेयर उठाउनपर्छ भन्ने दाउमा ठूला लगानीकर्ता थिए । मंगलबार उनीहरुले सेयर उठाएकाले नेप्से सूचक ९२.४६ अंक बढेर २५९९.०८ मा रोकिएको छ ।
२०७८ को पहिलो दिन बैशाख २ गते नेप्से हालसम्मकै उच्च २७३५.४ विन्दूमा पुगेको थियो ।
बैशाख लागेसँगै कोभिडको व्यापक हल्ला हुँदै आएको छ । गतसाता नेपालगन्ज उपमहानगरपालिकालगाय मुलुकका विभिन्न ठाउँमा लकडाउन/निशेषाज्ञा गरी गरेका थिए । त्यसको असर विस्तारै सेयर बजारमा पनि पर्दै आएको छ र बजार निरन्तर घट्दो क्रममै थियो । तर, त्यसलाई मंगलबार चिरिएको छ ।
आइतरबार र सोमबार दुई दिनमा मात्रै बजार १४० अंकले घटेर २५०६.६१ अंकमा कारोबार रोकिएको थियो । तर, मंगलबार ९२ अंकले बजार बढेको छ ।
ठूला लगानीकर्ताले धमाधम सेयर किन्न थालेपछि हिजो सस्तोमै सेयर फालेका साना लगानीकर्ताले पनि सेयर किनेका छन् । हरेक स्क्रिप्ट हरियो देखेपछि साना लगानीकर्ताले पनि धेर थोर सेयर उठाएका छन् ।

सेयर बजारमा उछाल आए पछि कारोबार रकममा भने खासै वृद्धि भएको छैन । नेप्से सूचक ९२ अंक बढ्दा पनि कारोबार रकम ६ अर्ब रुपैयाँ पनि पुगेन । मंगलबार ५ अर्ब १० करोड रुपैयाँ मात्रै भएको छ ।
मंगलबार सबैभन्दा बढी माथिल्लो तामाकोसीको सेयर किनबेच भएको छ । तामाकोसीको सेयर मूल्य १० प्रतिशत नै बढेको छ भने २३ करोड ८० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । त्यसैगरी नेपाल इन्फ्रास्टक्चर बैंकको पनि २१ करोडको कारोबार भएको छ ।