काठमाडौं। वीरगञ्जमा आधारित कागज उद्योग ‘दुर्गा पल्प्स प्राइभेट लिमिटेड’ गम्भीर वित्तीय संकटमा फसेको छ। कम्पनीको व्यापार निरन्तर ओरालो लागेको र बैंकबाट लिएको अर्बौं ऋणको सावाँ–ब्याज भुक्तानी गर्न नसकेपछि रेटिङ एजेन्सी इक्रा नेपालले यसलाई ‘डिफल्ट’ (कर्जा तिर्न नसकेको) श्रेणीमा राखेको छ। योसँगै कम्पनीले बैंकहरूबाट उपयोग गरिरहेको कुल १ अर्ब ५९ करोड ७० लाख रुपैयाँ ऋण अहिले उच्च जोखिममा परेको हो।
पर्साको वीरगञ्जमा उद्योग रहेको यो कम्पनीले पुराना कागज र पुस्तकहरूलाई कच्चा पदार्थको रूपमा प्रयोग गरी लेखन, छपाइ र समाचारपत्रका लागि आवश्यक कागज उत्पादन गर्दै आएको छ। कम्पनीको सबैभन्दा बढी मयंक केडियाको करिब ३० प्रतिशत सेयर स्वामित्व छ। साथै, सुलोचना अग्रवालको करिब १९ प्रतिशत र कम्पनीका अध्यक्ष रञ्जित कुमार अग्रवालको ८.८ प्रतिशत सेयर हिस्सा छ। प्रबद्र्धकहरू कागज व्यापारमा लामो अनुभव भएका भए तापनि कम्पनीको कमजोर वित्तीय व्यवस्थापनले गर्दा उद्योग अहिले धराशयी हुने अवस्थामा पुगेको रेटिङ रिपोर्टमा उल्लेख छ।
ऋण सीमाभन्दा बढी चलाउँदा थप संकट
रेटिङ रिपोर्ट अनुसार कम्पनीको वित्तीय अवस्था कतिसम्म नाजुक छ भने यसले बैंकहरूले तोकिदिएको ऋणको सीमाभन्दा बढी रकम उपयोग गरेको छ। इक्रा नेपालमा कम्पनीले १ अर्ब ५८ करोड ३० करोड रुपैयाँ बराबरको मात्रै ऋण सीमा लिएर रेटिङ गराउको थियो। तर, कम्पनीले करिब डेढ अर्ब ऋण बैंकहरुबाट उपयोग गरिसकेको रिपोर्टमा उल्लेख छ। कम्पनीको नगद प्रवाह अत्यन्तै कमजोर भएका कारण दैनिक सञ्चालन खर्च जुटाउन समेत नसक्दा उपलब्ध ऋण सीमाभन्दा बढी रकम चलाउनु परेको हो। यसरी सीमाभन्दा बढी ऋण चलाउँदा पनि कम्पनीले बैंकको नियमित किस्ता र ब्याज भुक्तानीमा भने ३० दिनभन्दा बढीको ढिलाइ गरिसकेको छ।
कम्पनीले लिएको ऋण र यसको आम्दानीको खाडल निकै डरलाग्दो छ। सन् २०२३ मा १ अर्ब ८ करोड २० लाख रुपैयाँ व्यापार गरेको कम्पनीको आम्दानी २०२४ मा घटेर ९३ करोड ५० लाखमा सीमित भयो भने २०२५ मा ७४ करोड ९० लाखमा झर्यो। चालू आर्थिक वर्ष २०२६ को पहिलो ६ महिनामा त व्यापार झनै खस्केर २८ करोड ९० लाखमा खुम्चिएको छ। व्यापार घट्दै जाने तर ऋणको ब्याज बढ्दै जाने परिस्थितिले कम्पनीलाई टाट पल्टिने अवस्थामा पुर्याएको हो। वार्षिक आम्दानी ७५ करोडको हाराहारीमा हुँदा ऋणको भार १ अर्ब ६० करोड पुग्नुले कम्पनी ऋणको दलदलमा फसेको प्रष्ट पार्छ।
व्यापारमा आएको निरन्तरको गिरावटले गर्दा कम्पनीको नगद प्रवाह ठप्प जस्तै छ भने, कम्पनीको कार्यशील पूँजी चक्र १८५ दिन पुगेको छ, जसको अर्थ सामान उत्पादन गरेर पैसा उठाउन झण्डै ६ महिना लाग्ने गरेको छ। कम्पनीको व्यापार बजार कोभिड–१९ पछि खस्किएको अझै सुधारिन सकेको छैन।
हालसम्म कम्पनीले बैंकहरूबाट लिएको कुल ऋण मध्ये १ अर्ब ४ करोड ७० लाख रुपैयाँ दीर्घकालीन ऋण र ५५ करोड रुपैयाँ अल्पकालीन ऋण रहेको छ। जुन यसको वार्षिक व्यापारको तुलनामा दोब्बर बढी हो। वित्तीय सूचकहरूले पनि कम्पनीको भयावह चित्र देखाउँछन्। कम्पनीको ब्याज तिर्ने क्षमता दर्शाउने ‘इन्ट्रेस्ट कभरेज रेसियो’ मात्र ०.४५ गुणा रहेको छ, जसको अर्थ कम्पनीले बैंकको ब्याज तिर्न आवश्यक पर्ने आम्दानीको आधा पनि कमाउन सकेको छैन। त्यस्तै, ऋण तिर्ने क्षमता समेत ०.२१ गुणामा झरेको छ।
कम्पनीको कुल ऋण र नाफाको अनुपात २६.२ गुणा पुग्नुले कम्पनी टाट पल्टिन लागेको संकेत गर्छ। इक्रा नेपालले कम्पनीको दीर्घकालीन ऋणलाई ‘एनपी एलडी’ र अल्पकालीन ऋणलाई ‘एनपी डी’ रेटिङ दिएको छ, जसको अर्थ कम्पनी कर्जा सूचना केन्द्रको कालोसूचीमा पर्न सक्ने वा बैंकहरूले यसको धितो लिलाम गर्न सक्ने उच्च जोखिम छ। बजारमा माग घटेको र ऋणको ब्याज तिर्न नसकेका कारण यो उद्योग अहिले नेपालकै जोखिमपूर्ण उद्योगहरूमध्ये एक बनेको छ। यद्यपि, कम्पनीले अहिले उत्पादनको गुणस्तर सुधार र क्षमता विस्तारका लागि थप पूँजीगत खर्च गरिरहेको छ, जुन सन् २०२६ को अन्त्यसम्ममा मात्र पूरा हुनेछ।