काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) का कारण गत वर्ष झै यस पटक पनि देशका विभिन्न ठाउँमा जारी निषेधाज्ञाका कारण निर्माण व्यवसायीहरूले भोग्दै आएको म्याद थपको समस्या थप पेचिलो बन्ने सङ्केत देखिएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ ।
यसअघि नै वैज्ञानिक ढङ्गले म्याद थप नहुँदा चर्को आर्थिक मारमा परेका हजारौं निर्माण व्यवसायीहरू अहिलेको विषम अवस्थाको निषेधाज्ञाका कारण अझ समस्यामा पर्ने निश्चित देखिएको महासंघको भनाइ छ ।
तोकिएको समयमा सम्पन्न हुन नसेकका परियोजनाहरूमा व्यावहारिक रुपमा म्याद थप गरी व्यवसायीहरूलाई राहत दिन महासंघका महासचिव रोशन दाहालले विज्ञप्तिमार्फत सम्बन्धित् सबै निकायहरूको गम्भीर ध्यानाकर्षण गराए।
अघिल्लो पटकको कोभिड र त्यसपछिको वर्षायाम, चाडपर्वलगायतका कारणले गर्दा व्यवसायीहरूले गत वर्ष र यस वर्षसमेत निर्माण कार्यहरु गर्ने फागुनदेखि असारसम्मको मुख्य दुई सिजनहरू गुमाएको समयलाई शून्य समय (कन्स्ट्रक्सन होलिडे) मानी हाल सञ्चालित सम्पूर्ण निर्माण कार्यहरुको लागि एकमुष्ठ एक वर्ष निर्णय भएको मितिबाट गणना हुने गरी म्याद थप गरिनु पर्ने महासंघको माग छ ।
यसैगरी निषेधाज्ञाको अवधिमा सार्वजनिक निकायहरूले आह्वान गरी सो समयमा बोलपत्र दाखिला गर्ने समय भएका अति आवश्यक सेवा बाहेकका खरिद प्रक्रियाहरुमा निर्माण व्यवसायी सदस्यहरु एक ठाउँबाट अर्को ठाउँसम्म आवतजावत गर्न नसक्ने, बैंक ग्यारेण्टीलगायतका कागजात तयार गर्न नसकिने भएकाले यस्ता सम्पूर्ण खरिद प्रक्रिया हाललाई स्थगित गरी साे सबै बोलपत्रहरुको म्याद कम्तिमा १५ दिन थप गरी दिनका लागि महासंघले जोडदार माग गरेको छ ।
कोभिडको महामारी र निषेधाज्ञासँगै निर्माण व्यवसायीहरूले पाउनु पर्ने अरबौं अरब रुपैयाँ भुक्तानी रोकिँदा बैंक किस्ता, राजश्व दाखिला, आपूर्तिकर्ता तथा मजदुरहरुको भुक्तानी नहुँदा निर्माण क्षेत्र आर्थिक रुपले धरासायी भएको महासंघले जनाएको छ ।
हाल कोभिडको दोस्रो कहरसँगै आकासिएको मूल्यवृद्धि, निर्माण सामग्रीको आपूर्ति र ढुवानीमा हुने कालोबजारी, मजदुरहरूको अभाव, सरकारी निकायको समन्वयमा कमी जस्ता समस्या यस पटक दोहोरिन नदिन समयमै उपयुक्त तथा प्रभावकारी कदम चाल्न महासंघले सम्बन्धित सबै निकाय समक्ष अनुरोध गरेको छ ।