काठमाडौं । माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको बाँधस्थलमा पानी भर्ने बटम थिच्न हेलिकप्टर चार्टर्ड गरेर दुई मन्त्री दोलखा पुगेका छन् ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङ र भौतिक तथा पूर्वधारमन्त्री बसन्त नेम्वाङ आयोजना स्थल लामाबगर पुगेका हुन् ।
राष्ट्रिय गौरबको आयोजनाको रुपमा लिइएको ४५६ मेगावाटको तामाकोसी आयोजना यही महिनाको अन्तिम तिर पहिलो चरणको विद्युत उत्पादन गर्ने तयारी भइरहेको छ । तथापी, आयोजनाले विद्युत उत्पादनको मिति भने अहिलेसम्म सार्वजनिक गरिसकेको छैन ।
प्रधानमन्त्री केपी शर्मा ओलीले केही साताअघि माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको कामको ढिलाइ प्रतिअसन्तुष्ट जनाएका थिए । प्रधानमन्त्री ओली आयोजनाको काम प्रतिअसन्तुष्टि भए पनि पछिल्लो समय सरकारी निकायबाट अनुगमनलाई तीब्रता दिइएको छ ।
आयोजनाको काम नै नसकेको बेलामा लाखौं रुपैयाँ खर्च गरेर बाँधस्थलमा पानी भर्न दुई मन्त्री आएको बताउँदै नेपाली कांग्रेस दोलखाले विरोध जनाएको छ ।
पार्टी सचिवद्वय सन्तोष रिमाल र सूर्यबहादुर आचार्य(बालकृष्ण)ले संयुक्त रुपमा हस्ताक्षरित विज्ञप्तिमा नागरिकलाई निषेधाज्ञा लगाएर घरभित्र राखेको सरकार कोरोनाविरुद्ध लड्पर्नेमा आयोजनालाई खर्चको बोझ थप्ने गरी हेलिकप्टर चार्टर्ड गरेर आउनु ‘काम कुरो एकातिर कुम्लो बोकी ठिमी तिर’को सज्ञा दिएका छन् ।
महामारीमा समेत उद्घाटन तथा शिलान्यासको पदीय उन्माद चढेको सरकार प्रतिनेपाली कांग्रेस दोलखा खेद प्रकट गर्दै सशक्त खबरदारी गर्ने जनाएको छ ।
‘आफ्नै जिल्लामा निर्माण भइरहेको गौरवको आयोजनामा सरकारमा बसेका बेला पानीको बटन थिच्ने कामको अनुगमनका नाममा फजुल खर्च गराउने दोलखाकै सांसदसमेत रहेका मन्त्री गुरुङको कदमको घोर निन्दा र भत्र्सना गर्दछौं’, विज्ञप्तिमा भनिएको छ ।
कांग्रेसको विरोधकै बीच दुई मन्त्री आयोजना स्थलमा पुगेर बटम थिचेर बाँधस्थलमा पानी पठाउने कामको सुभारम्भ गरिसकेका छन् ।