काठमाडौं । भारतीय बजारबाट सिधै विद्युत् खरिद गर्ने नेपाल पहिलो मुलुक बनेको छ । यसअघिसम्म भारतीय सरकारी कम्पनी एनबीबीएनसँग विद्युत् किन्दै आएको नेपालले अबदेखि बजारबाट सिधै किन्न सक्ने बाटो खुलेको हो ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले एनबीबीएनको सहजीकरणबाटै भारतीय बजारमा बिजुली किन्न सकिने बाटो खुलेको बताए । ‘अब बजार भाउमा आवश्यकताअनुसार बिजुली किन्न सकिन्छ,’ शाक्यले क्यापिटल नेपालसँग भने, ‘यसअघिसम्म द्विपक्षीय सम्झौताका आधारमा बिजुली खरिद भइरहेको थियो । एनबीबीएनसँग प्रतियुनिट ४ रुपैयाँ १८ पैसा भारतीय रुपैयाँमा बिजुली खपत भइरहेको थियो ।’
प्राधिकरणले शनिबार भारतीय बजारबाट प्रतियुनिट ३ रुपैयाँ ८१ पैसा भारुमा ५ हजार १ सय ५० मेगावाट आवर खरिद गर्दैछ । आइतबारका लागि यही मूल्य भने कायम नहुन सक्ने कार्यकारी निर्देशक शाक्यले बताए । गत मार्चमा भारतले क्रसबोर्डर इलेक्ट्रिसिटी ट्रेडिङको कार्यविधि स्वीकृत गरेपछि नेपाल विद्युत् प्राधिकरणको नेतृत्वले पनि आवश्यक तयारी थालेको थियो ।
‘भारतले कार्यविधि स्वीकृत गर्ने तयारी गरेसँगै हामीले पनि आन्तरिक तयारी तीब्र बनाएका थियौं’ शाक्यले भने, ‘कार्यविधि स्वीकृत हुनासाथै त्यहाँ लेखिएका सबै नियमहरु पूरा गरेर हामीले भारतीय बजारमा प्रवेशका लागि निवेदन दिएका पनि थियौं । त्यो निवेदन स्वीकृत हुनका लागि एक महिना लाग्यो । यो निवेदन करिब २ हप्ताअघि स्वीकृत भएको हो ।’
प्राधिकरणले एनबीबीएनको सहजीकरणबाटै यसका बारेमा सम्झौता गरेर ट्रेडिङमा स्वीकृति पाउन साथै के के गर्नुपर्छ भन्ने कागजातहरु सबै जम्मा गरेर तयार भएर बसेको थियो ।
खासगरी, मे १ तारिखदेखि नेपालले पाउने विजुली वा एनबीबीएनसँग गरेको सम्झौता अनुरुप विजुली आएन । एनबीबीएनसँग नेपालले ३५० मेगावाटको सम्झौता गरेको थियो । तर, उसले नेपाललाई दिने विजुली २०० मेगावाटमा झरेपछि खुला बजारमा जान प्राधिकरण कस्सिएको थियो ।
नेपालको खोलानालामा पानीको मात्रा घट्दै गएको र आन्तरिक रुपमा माग नघटेपछि मे १ तारिखदेखि थप विजुली खरिद गर्नुपर्ने अवस्था आइसकेको थियो । यसका लागि प्राकिकण विद्युत् नियमन आयोग र सञ्चालक समितिबाट स्वीकृति लिएर तयार भएर बसेको थियो । आवश्यक विधिमाथि छलफल गरेर माइन्यूट समेत गरिसकेकाले सम्पूर्ण प्रक्रिया अघि बढाउन सहज भएको हो ।
‘सबै तयारी गरेको हुनाले भारतले आफ्नो बजार खोल्नासाथ सबैभन्दा पहिला नेपालले अनुमति पाएको हो’ कार्यकारी निर्देशक शाक्यले भने, ‘यो विधिबाट विद्युत् खरिद गर्ने विदेशीहरुमा नेपाल पहिलो देश पनि हो ।’
यसबाट नेपाललाई के हुन्छ फाइदा ?
आवश्यकताअनुसार भारतीय बजारबाट विजुली खरिद गर्न बाटो खुलेको छ । व्यापारमा सिधै भाग लिन पनि पाउँछ । त्यहाँ प्राप्त हुने विजुलीको मूल्य कुनै पनि बाह्य हस्तक्षेप हुँदैन । बजारको दररेटमा बिजुली खरिद गर्न सकिन्छ।
बिजुलीको मूल्य बजारले तय गर्ने भएकाले मूल्यमा घटबढ भइरहने हुन्छ । बजारमा प्रवेश पाएपछि बजारकै नियमअनुसार चल्नुपर्छ । बजारको नियमअनुसार खरिद गर्न वा बेच्न पनि पाइन्छ ।
नयाँ प्रक्रिया अनुसार प्राधिकरणले शनिबार विजुली ल्याउँदै छ । त्यसका लागि शुक्रबार बिड गरिसकिएको छ । नेपाल विद्युत् प्राधिकरणले शनिबारका लागि प्रतियुनिट ३.८१ पैसा भारु बिजुली किन्दै छ । यसअघि ४.१८ पैसा भारुमा खरिद भइरहेको थियो । खरिद गरिरहेको मूल्य भन्दा ३७ पैसा भारु सस्तो पर्ने भएको छ । ३.८१ पैसा भारुमा विजुली किन्दा शनिबार मात्रै नेपाललाई ३० लाख ४८ हजार रुपैयाँ जोगिनेछ ।