काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले आइतबार भारतीय उर्जा बजारबाट किन्न लागेको विजुलीको मूल्य शनिबारको भन्दा पनि सस्तो भएको छ । शनिबार ३ रुपैयाँ ८१ पैसा भारुमा विजुली किनेको प्राधिकरणले आइतबार प्रतियुनिट ३ रुपैयाँ ५१ पैसा भारुमा खरिद गर्न लागेको हो ।
प्राधिकरणले आइतबार ३ रुपैयाँ ५१ पैसा भारुमा ४ हजार ५० मेगावाट आवर विजुली लिँदै छ । शनिबार ५ हजार १ सय ५० मेगावाट आवर विजुली ३ रुपैयाँ ८१ पैसा भारुमा खरिद गरेको थियो ।
अहिलेसम्म भारतीय सरकारी कम्पनी एनभीभीएनसँग ४ रुपैयाँ १८ पैसा भारुमा प्रतियुनिट विजुली किनिरहेको थियो । महँगो मूल्यमा विजुली किन्दा प्राधिकरणले ठूलो धनराशी भारत पठाइरहेको थियो ।
तर, कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य आएपछि सबैभन्दा पहिला भारतीय उर्जा बजारमा प्रवेश लिनका लागि ठूलो मिहिनेत गरेका थिए । उनको उद्देश्य थियो, देशबाट बाहिरिरहेको पैसालाई कम गर्ने ।
प्राधिकरणले उर्जा बजारमा प्रवेश पाउने वित्तिकै दुई दिनमै झण्डै ७५ लाख रुपैयाँ भारत जानबाट जोगिसकेको छ । यस अघिका कार्यकारी निर्देशक कुलमान घिसिङले उर्जा बजारमा प्रवेश लिनका लागि कुनै पहल नगर्दा ठूलो धनराशी नेपालबाट बाहिरिएको थियो ।
भारतमा हरेक दिन विजुलीको नयाँ दररेट कायम हुन्छ । त्यहाँ अत्यधिक विद्युत् उत्पादन हुने बजारमै विजुलीको भाउ निर्धारण हुने गर्छ । हरेक दिन विजुली किन्नका लागि प्रस्ताव गर्नुपर्छ । त्यही भएर शनिबारको तुलना आइतबारको मूल्य झन कम भएको हो ।
प्राधिकरण नेतृत्वको पहलकदमीका कारण एकातिर देशले ठूलो धनराशी बचाउन खोजेको देखिन्छ भने अर्कोतिर आवश्यकता अनुसार विजुली ल्याउन सकिने बाटो खुलेको छ । नेपालभित्र विजुलीको माग बढ्दै गएकाले प्राधिकरणलाई माग थेग्न कठिन भएको थियो । अब माग अनुसार विजुली ल्याउन सकिने प्राधिकरणले जनाएको छ ।