काठमाडौं । उद्योग संगठन मोरङले सामाजिक सुरक्षा कोषको कार्यालय, काठमाडौंसँगको समन्वयमा उपत्यका बाहिर प्रथम पटक सामाजिक सुरक्षा कोषको सहजीकरण एकाइ सञ्चलनमा ल्याएको छ ।
सरकारले २०७६ साउनदेखि लागू गरेको योगदानमा आधारित सामाजिक सुरक्षा योजनाका सम्बन्धमा जानकारी एवं कोषमा सूचीकरण, दावी भुक्तानीलगायतका विषयमा सूचना एवं सेवाहरु प्राप्त गर्नका लागि श्रमिकहरुले काठमाडांै धाउनु पर्ने बाध्यता अन्त्य भएको छ ।
संगठनको सचिवालयमा रहेको एकाईले सामाजिक सुरक्षा योजनाहरुसम्बन्धी अभिमूखिकरण, उद्योग प्रतिष्ठान र श्रमिकहरुलाई सूचीकरणसम्बन्धी जानकारी उपलब्ध गराउनुका साथै रोगजारदाता र योगदानकर्ताहरुको सूचीकरणका लागि प्राविधिक सहयोग गर्दै सेवाग्राही र सामाजिक सुरक्षा कोष काठमाडौं बीच समन्वयकारी भूमिका निर्वाह गर्नेछ ।
त्यसैगरी दाबी भुक्तानीका लागि आवश्यक कागजात र प्रक्रियाको जानकारी, औषधि उपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजना, दुर्घटना तथा असक्त्तता सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजनाको दाबीका लागि आवश्यक कागजातको प्रारम्भिक रुजु, वृद्ध अवस्था सुरक्षा योजना दावीका लागि प्रक्रियाका साथै योजनाहरुको दाबी भुक्तानीको अवस्था वारे एकाईले सहजीकरण गर्ने छ ।
संगठनमा स्थापना भएको एकाईले योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा आबद्ध गराउन रोजगारदाता र श्रमिक बीच समन्वय, सुरक्षा योजनाहरुको दाबी भुक्तानीका सम्बन्धमा रहेको अन्यौलता हटाई सामाजिक सुरक्षा कोषमा यस क्षेत्रका श्रमिकहरुको पहुँच स्थापित गर्न सहयोग पु¥याउने संगठनका अध्यक्ष सुयश प्याकुरेलले जानकारी दिए ।