काठमाडौं । जिल्लामा कोरोना सङ्क्रमित दिनहुँ बढ्दै गएपछि आज राति १२ बजेबाट लागू हुने गरी १० दिन निषेधाज्ञा लगाउने भएको छ ।
कोभिड–१९ जिल्ला सङ्कट व्यवस्थापन समितिको बसेको बैठकले आज राति १२ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी सुनिल खनालले जानकारी दिए ।
पछिल्लो समयमा नयाँ भेरियन्टसहितको कोरोना भाइरसको सङक्रमण बढेसँगै जिल्लामा दिनहुँ सङ्क्रमित बढ्दै जान थालेका छन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार वैशाख ५ देखियता जिल्लामा १ सय ७३ जनामा कोरोना सङ्क्रमण देखिएको छ भने दुई जनाको मृत्यु भइसकेको छ ।
अहिलेसम्म जिल्लामा कोरोना सङ्क्रमित भए सबै भारतबाट रोजगारी गरी घर फर्किएका नागरिक रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
बागलुङमा आजदेखि निषेधाज्ञा
कोरोना सङ्क्रमणको दर बढ्दै गएपछि बागलुङमा आजदेखि १० दिनका लागि निषेधाज्ञा जारी भएको छ । जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको बैठकले वैशाख २१ गतेदेखि निषेधाज्ञा जारी गर्न जिल्ला सुरक्षा समितिलाई सिफारिस गरेपछि निषेधाज्ञा जारी भएको हो ।
समितिको निर्णयअनुसार बागलुङ नगरपालिकामा वैशाख महिनाभर निषेधाज्ञा जारी भएको छ । यसअघि बागलुङ नगरपालिका र बागलुङ उद्योग वाणिज्य सङ्घले निषेधाज्ञाका लागि प्रशासनमा अनुरोध गरेका थिए । निषेधाज्ञाको समयमा सरकारी कार्यालय भने आंशिक खुल्नेछन् ।
कार्यालय प्रमुखले आलोपालो प्रणालीमा भीडभाड कम हुने गरी कार्यालय सञ्चालन गरेर अत्यावश्यक सेवा दिन समितिले निर्देशन दिएको छ । रासस