काठमाडौं । चालु आर्थिक वर्ष ०७७/०७८ सुरु भएयता सरकारले विभिन्न वित्तीय उपकरणमार्फत लक्ष्यका आधा आन्तरिक ऋण परिचालन गरेको छ । चैतसम्म सरकारले १ खर्ब १२ अर्ब ५१ करोड ५३ लाख रुपैयाँ आन्तरिक ऋण परिचालन गरेको छ ।
चालु आर्थिक वर्षमा सरकारले २ खर्ब २५ अर्ब रुपैयाँ आन्तरिक ऋण परिचालन गर्ने लक्ष्य लिएको छ आर्थिक वर्ष सकिन अझै ३ महिना बाँकी छ । २०७७ चैत मसान्तसम्म ट्रेजरी बिलबाट २० अर्ब ५० करोड, विकास ऋणपत्रबाट ९० अर्ब, नागरिक बचतपत्रबाट २ अर्ब र वैदेशिक रोजगार बचतपत्र बाट १ करोड ५३ लाख रुपैयाँ आन्तरिक ऋण परिचालन गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
यो पनि हेर्नुहोस
सरकारको ऋण बढ्दो, आगामी वर्ष जीडीपीको आधा पुग्ने विश्व बैंकको प्रक्षेपण
चालु आर्थिक वर्षमा सरकारले कुल २८ अर्ब ३० करोड ६२ लाख रुपैयाँ आन्तरिक ऋण चुक्ता गरेको छ । जसअनुसार १७ अर्ब २२ करोड ४१ लाख बराबरको टे«जरी बिल, ६ अर्ब विकास ऋणपत्र, ५ अर्ब नागरिक बचतपत्र तथा ८ करोड २१ लाख रुपैयाँ वैदेशिक रोजगार बचतपत्रको ऋण चुक्ता गरेको केन्द्रीय बैंकले जनाएको छ ।
२०७७ चैत मसान्तसम्म सरकारको कुल आन्तरिक ऋण दायित्व ६ खर्ब ९७ अर्ब ४२ करोड १२ लाख रुपैयाँ रहेको छ । जसमध्ये ट्रेजरी बिलमा २ खर्ब १८ अर्ब ४९ करोड ४१ लाख, विकास ऋणपत्रमा ४ खर्ब ७३ अर्ब ९४ करोड ७० लाख, नागरिक बचतपत्रमा ४ अर्ब ६४ करोड २० लाख र वैदेशिक रोजगार बचतपत्रमा ३३ करोड ८२ लाख रुपैयाँ रहेको छ ।
चालु आर्थिक वर्षमा सार्वजनिक ऋण दायित्व बढेर कुल ग्राहस्र्थ उत्पादनको ४० प्रतिशत माथि पुग्ने अनुमान विश्व बैंकले गरेको छ । राजस्वको स्रोत नबढ्दा र ठूला आकारको बजेट बनाउँदा पछिल्ला वर्षहरूमा सरकारको सार्वजनिक ऋण दायित्व बढेको छ । विश्व बैंकले आगामी आर्थिक वर्ष ०७८/०७९ (सन २०२२०) मा सार्वजनिक ऋण बढेर जीडीपीको झण्डै आधा पुग्ने अनुमान गरेको छ ।
आगामी आर्थिक वर्ष सार्वजनिक ऋण दायित्व बढेर ४७.९ प्रतिशत पुग्ने अनुमान सार्वजनिक गरेको हो । विश्व बैंकले चालू आर्थिक वर्षमा ऋण जीडीपीको ४१.९ प्रतिशत पुग्ने अनुमान गरेको छ । जीडीपीको अनुपातमा सरकारको ऋण दायित्व गत वर्ष ३६ र अघिल्लो वर्ष २६.५ प्रतिशत थियो ।