काठमाडौं । सेयर बजारमा जलविद्युत कम्पनीको हिस्सा बढ्दै गएको छ । पछिल्लो समय जलविद्युत कम्पनीहरुले धमाधम प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्न थालेपछि यो उपसूचकको बजार हिस्सा बढेको हो । नेपाल राष्ट्र बैंकका अनुसार जलविद्युत कम्पनीहरुको बजार हिस्सा बढेर चैतसम्म ७.९ प्रतिशत पुगेको छ ।
२०७७ चैतमा नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा सूचीकृत कम्पनीहरूको संख्या २१८ रहेको छ । सूचीकृत कम्पनीहरुमध्ये १४५ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् । यस्तै ३८ वटा जलविद्युत कम्पनी छन ।
१९ उत्पादन तथा प्रशोधन उद्योग, ५ वटा होटल, ४ व्यापारिक संस्था,४ लगानी कम्पनी र ३ अन्य समूहका रहेका छन । २०७७ असारमा सूचीकृत कम्पनीहरूको संख्या २१२ रहेको थियो ।
नेपाल धितोपत्र बोर्डमा आईपीओ निष्कासन गर्ने आवेदन दिनेमा ८० प्रतिशत जलविद्युत कम्पनीहरु रहेका छन । सरकारले आयोजना प्रभावित स्थानीयबासिन्दालाई न्यूनतम १० प्रतिशत प्राथमिक सेयर (आईपीओ) निष्कासन गर्नुपर्ने वाध्यकारी व्यवस्था गरेपछि सबै कम्पनीहरु सर्वसाधारणमा जान थालेका हुन ।
जलविद्युत कम्पनीहरुले आईपीओबाट थप लगानी जुटाइरहेका छन । यस्तै सरकारले नेपालको पानी जनताको लगानी अभियानबाट सर्वसाधारणलाई जलविद्युत कम्पनीको सेयर दिने योजना कार्यान्वयनमा ल्याएको छ । सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा सबैभन्दा बढी छ ।
यो उपसूचकको हिस्सा ६९.३ प्रतिशत रहेको छ । लगानी कम्पनीको ७.८ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ३.६ प्रतिशत, होटेलको हिस्सा १.७ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.६ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ९.१ प्रतिशत रहेको छ ।
नेप्सेमा २०७७ चैतसम्ममा सूचीकृत ५ अर्ब ६७ करोड सेयरको चुक्ता मूल्य ५ खर्ब ५७ अर्ब ७० करोड रहेको छ । आर्थिक वर्ष २०७७७८ को नौ महिनासम्ममा २ खर्ब १९ अर्ब ९५ करोड बराबरको विकास ऋणपत्र, ३९ अर्ब ४७ करोड बराबरको आईपीओ, ३८ अर्ब ११ करोड बराबरको बोनस सेयर, १४ अर्ब ५५ करोड बराबरको डिबेन्चर, ३ अर्ब ९२ करोड बराबरको हकप्रद सेयर र २ अर्ब ८५ करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड गरी कुल ३ खर्ब १८ अर्ब ८५ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन ।
समीक्षा अवधिमा धितोपत्र बोर्डले ११ अर्ब ५९ करोड बराबरको साधारण शेयर, ११ अर्ब ८४ करोड बराबरको डिबेन्चर, ३ अर्ब ३० करोड बराबरको म्युचुअल फण्ड र २ अर्ब ४८ करोड बराबरको हकप्रद सेयर गरी कुल २९ अर्ब २१ करोड रुपैयाँ बराबरको धितोपत्र निष्काशन गर्न अनुमति दिएको छ ।