काठमाडौं । लामो समयदेखि चलिरहेको राजनीतिक किचलो अन्त्य भएसँगै सेयर बजारमा उछाल आएको छ । सत्ता परिवर्तनको खेलमा राजनीतिक दल लाग्दा त्यसको नकारात्मक असर बजारमा परेको थियो । तर, गत साता केप ओली प्रधानमन्त्रीमा दोहोरिएपछि आइतबार बजारमा हरियाली देखिएको हो ।
ओली नेतृत्वको सरकार रहला वा नरहला, यदि नयाँ सरकार बन्यो भने कसको नेतृत्वका बन्ला, बजारलाई हेर्ने दृष्टिकोण कस्तो होला भन्ने डरका कारण बजारले गति समाउन सकेको थिएन । तर, ओलीकै नेतृत्वमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नै अर्थ मन्त्रालय सम्हालेपछि बजारमा लगानीकर्ताको मनोवल उच्च भएसँगै बजार पनि बढेको हो ।
यो बीचमा सरकार परिवर्तनको हल्ला व्यापक रुपमा चलेपछि ठूला लगानीकर्ता पर्ख र हेरको अवस्थामा थिए । राजनीतिले कुन दिशा समाउँछ भन्ने निक्र्यौल नहुँदा त्यसको प्रत्यक्ष प्रभाव बजारमा परेको थियो ।
एकातिर राजनीतिक किचलो अन्त्य र अर्कोतिर नेपाल इन्भेष्टमेन्ट र हिमालयन बैंकबीच मर्ज हुने सम्झौता भएपछि त्यसको पनि सकारात्मक प्रभाव बजारमा परेको लगानीकर्ताहरु बताउँछन् ।
अहिले देखिएका किचलो केही समयमा लागि रोकिएकाले बजार उचालिने देखिएको छ । झण्डै एक महिना ठूला लगानीकर्ता नचल्दा बजारमा चमक आउन सकेको थिएन । बजारलाई चलायमान बनाउन ठूला लगानीकर्ता सक्रिय हुनुपर्छ । उनीहरु केही समयदेखि पर्ख र हेरको अवस्थामा थिए । तर, यो बीचमा साना लगानीकर्ताहरु भने बजारमा सक्रिय नै रहेका थिए ।
तरल राजनीतिले गर्दा केही लगानीकर्ता नाफा बुक गर्न खोज्दा पनि बजार राताम्मै भएको थियो । यस्तो संकटका बेला नाफा बुक गर्नु स्वभाविक पनि हो । संकट आउने जस्तो देखिएपछि आफू बजारबाट बाहिरिएर बस्नु राम्रो पनि हो । जब बजार अनुकूल स्थिति बन्छ, त्यो बेला नाफा बुक गरेर बसेका लगानीकर्ता भित्रिन्छन् र बजारले फेरि गति समाउन थाल्छ । अहिले त्यही हुन थालेको छ ।
आज नेप्से सूचक ५४.२६ अंकले बढेर २७३८.३५ को बिन्दुमा पुगेको हो । आज १० अर्ब ४० करोड ३८ लाख ७९ हजार रूपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबारमा आएका २१४ कम्पनीको २ करोड १३ लाख २८ हजार ८ सय ८२ कित्ता सेयर खरिद बिक्रीबाट यो रकम बराबरको कारोबार भएको हो ।
आज रुरु जलविद्युत परियोजना, समता घरेलु लघुवित्त लगायत ८ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । समूहगत सूचक भने सबै क्षेत्रको बढेको छ ।
आज नेपाल पुनर्बिमा कम्पनीको सबैभन्दा धेरै ८५ करोड २० लाख र एनसीसी बैंकको ३१ करोड ५७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।