काठमाडौं । अहिले देशका अधिकांश जिल्लामा अक्सिजन प्लान्ट निर्माणका लागि तीब्र तयारी भइरहेका छन् । पछिल्लो समय कोरोना भाइरस (कोभिड-१९)का संक्रमितहरुलाई अक्सिजनको अभाव भएको खबरहरु सार्वजनिक भएसँगै मुलुकका धेरै ठाउँमा प्लान्ट राख्ने घोषणासमेत भइरहेको छ ।
जिल्लामा रहेका अस्पतालदेखि स्थानीय तहले समेत समायोजन गरी प्लान्ट निर्माणमा जुटेको देखिन्छन् । जिल्लामा रहेका संक्रमितहरुलाई कुनै पनि समयमा अक्सिजनको अभाव हुन नदिन भन्दै दोलखाका स्थानीय तहले पनि अक्सिजन प्लान्ट राख्ने निर्णय गरेको छ । प्रत्येक नगरपालिका र गाउँपालिकाले १२/ १२ लाख रुपैयाँ संकलन गरि छिटोभन्दा छिटो अक्सिजन प्लान्ट राख्ने निर्णय गरेका छन् ।
नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवाले अक्सिजन प्लान्ट खरिदका लागि धनगढी उपमहानगरपालिकालाई १० लाख रुपैयाँ आर्थिक सहयोग गरेकी छन्र ।
यती मात्र हाेइन,अधिकांश जिल्लाले अक्सिजन प्लान्ट राख्ने योजना अगाडि सारिरहेका छन् । भएका अक्सिजन उद्योगबाट उत्पादन भएकोले पर्याप्त नभएको भन्दै आफ्नै प्लान्ट राख्ने योजनामा स्थानीय तह पुगेको देखिन्छ ।
स्थानीय तह र जिल्ला स्तरमा अक्सिजन प्लान्ट राख्ने निर्णय गरे पनि कतिसमयमा सकिन्छ र कति खर्च लाग्छ भन्ने धेरैलाई आँकलन नहुन सक्छ । यस विषयमा अक्सिजन प्लान्ट राख्दै आएका व्यवसायी प्रदिपमान प्रधानले छिटोमा २ महिनामा र ढिलोमा ३ महिना भित्रमा पूर्ण रुपमा तयार भइसक्ने बताउँछन् ।
‘अहिले भने जस्तो तत्कालका तत्कालै प्लान्ट राख्न सम्भव देखिँदैन ,हिटको प्राइभेट लिमिटेडका अध्यक्ष प्रधानले भने, भारतमा यसको सामान अभाव रहेको र चीनबाट आयात गर्नुपर्ने भएकोले केहि समय लाग्छ ’ ।
बजारमा हल्ला गरिएजस्तो तत्कालका तत्कालै प्लान्ट राख्न सम्भावना नभएको उनी बताउछन् । उद्योगको क्षमता हेरेर २ करोड देखि ४ करोड रुपैयाँसम्म लाग्ने उनको भनाई छ । ‘एउटा अस्पतालमा मात्र प्रयोग गर्ने र पाइप मार्फत प्रयोग हुने हो भने केहि मूल्यमा सस्तो पर्न जान्छ, अध्यक्ष प्रधानले भने,तर सिलिण्डरमा भर्ने हो भने केही महँगो हुन्छ ’ ।
अक्सिजन प्लान्टका लागि आवश्यक सामाग्रीहरु पहिला भारतबाट आउने भएकोले केही सस्तो भएको र अहिले चीनबाट ल्याउनु पर्ने भएकोले महँगो पर्न गएको उनी बताउछन् । महँगो भए पनि चीनमा पनि यसको सामान अभाव हुदै गएको उनले बताए । भारतले पनि चीनबाटै धेरै सामानहरु लैजान थालेकोले पछिल्लो समय अभाव हुँदै गएको बताइन्छ ।
अहिले अस्पतालहरु रहेका प्लान्टहरु समेत बिग्रिएको र मर्मतका लागि सामान नभएकोले समस्या भएको उनको भनाई छ । अधिकांश अस्पतालमा बाहिरी मुलुकबाट सामान ल्याएको र सो सामान लिन त्यही मुलुकको भर पर्नुपर्ने हुँदा अधिकांश मुलुकमा बन्दाबन्दी भएकोले समस्या भएको बताइन्छ ।
‘अहिलेको विकल्प भनेको अस्पतालमा भएको प्लान्ट र भएका प्लान्टहरुलाई पूर्णरुपमा सञ्चालनमा ल्याउने हो’ उनले भने ।
सरकारले केही दिनअघि मात्र अस्पतालहरुलाई १५ दिनभित्रमा अक्सिजन प्लान्ट राख्न निर्देशन दिएको थियो । तर,अस्पतालहरुले भने तत्कालै सम्भव नभएको र हावादारी निर्देशन भएको प्रतिक्रिया दिएका थिए ।
यती हुँदाहुँदै पनि प्लान्ट निर्माणका लागि धेरै ठाउँबाट माग आएको र सामान पुराउनै समस्या भएको उनले बताए । यस्तै अक्सिजन प्लान्ट सम्बन्धी काम गर्दै आएका ईश्वर कार्कीले पनि धेरै माग आएकोले धान्न नसकिएको बताए ।
आफूसँग भएको स्टक सामान सकिएको र बाहिरी मुलुकबाट सामान ल्याउन समय लाग्ने भएकाले धेरैको माग पुरा गर्न नसकिएको कार्कीको भनाई छ ।