काठमाडौं। युवाहरुको बढ्यो विदेश पलायन र नैरास्यतालाई रोक्न सरकारी नीति र व्यवसायिक रणनीतिको खाँचो रहेको सरोकारवालाले औँल्याएका छन्। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको आयोजामा भृकुटीमण्डपमा जारी ‘नाडा अटो शो, २०२५’को अवसरमा शुक्रबार राजधानीमा आयोजित ‘युथ, मोबिलिटी, एण्ड नेशनल्स ड्रिः ब्रिडिङ दी ग्याप बिट्वीन एसप्रेशन एण्ड अप्रुचुनिटी ईन नेपाल’ बृहत छलफल कार्यक्रममा वक्ताहरुले यस्तो बताएका हुन्।
कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर एवंम् राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष दीपेन्द्र बहादुर क्षत्रीले नेपालको शिक्षा प्रणालीनै कमजोर र विदेशीका लागि कामदार उत्पादन गर्ने खालको भएकाले युवाहरु स्वदेशमा बस्नै नचाएको बताए।
उनले भने, ‘युवाहरु आज किन विदेशिन चाहिरहेका छन्? पहिलो त यहाँ भनेजस्तो रोजगारीको ज्ञारेन्टी छैन। अर्कोतर्फ युवाहरुमा स्वतन्त्रतासँगै गुणस्तरीय शिक्षा र भविष्य बनाउने चिन्ता छ। यसले आज देश विस्तारै रिक्तिदै छ। यो क्रम अझ बढ्दो छ। यसो हुनुको पछाडिको दोष हाम्रो राजनीतिक प्रणाली, प्रशासनिक प्रणाली र नीतिगत कमजोरीको कारण हो। यदि देशमै सही नीति र व्यवसायिक कार्य रणनीतिको व्यवस्था भइदिएको भए आज युवाहरु विदेशिने थिएनन्। एउटा घर र एउटा गाडी चढ्नकै लागि आज युवाहरु यसरी विदेशिने थिएनन्।’
युवाहरुलाई कसरी देशमै अडिने वातावरण बनाउने र गएकाहरुलाइ फर्काउने भन्ने मुद्दामा बोल्दै अर्थ मन्त्रालयका सहसचिव महेश भट्टराईले रणनीतिक योजनासहित नेपाली समाजको गलत सोच र धारणालाई परिवर्तन गर्नुपर्ने बताए।
उनले भने, ‘यहाँ हाम्रो सोचाइनै गलत छ, व्यवसायिक नबनिकन पुँजी बनाउन सकिँदैन। तर नेपाली समाज पुँजीपतिलाई नराम्रो दृष्टिकोणले हेर्छ। कामको कमिसनलाई गलत अर्थमा बुझ्छ। अझ व्यवसायिक मिडियटरलाई त बिचौलिया दलाली भनेर टिक्नै दिदैन। यस्ता अरु धेरै उदाहरणहरु छन्। जसले मुलुकमा व्यवसायिक वातावरण बन्न दिइरहेको छ। यसले रोजगारी र पुँजी वृद्धिमा काम गर्न दिइरहेको छ। यसमा पनि युवाहरुमा नैरास्यता बढ्दैछ र विदेश पलायन बढ्दै छ।’
तर विदेशिएका युवाहरुलाई स्वदेश फकाउन स्पष्ट नीति, व्यवसायिक रणनीति र सहजीकरण गर्नाले फर्काउन सकिने उनले बताए।
यसैगरी नेपाल युवा उद्यमी संघका अध्यक्ष सुदिप घिमिरेले स्वदेशमै गर्न सकिने ठूलो सम्भावनाहरु हुँदाहुँदै पनि युवाहरुलाई रोक्न नसकिएको बताए। देशको अस्थिर राजनीति, नीतिगत जटिलता, प्रशासनिक झमेला अरु धेरै कारणहरुले युवाहरुलाई दिकदारी लगाउने काम गरेकोले विदेशिन खोजिरहेको उनले बताएका थिए। यसका लागि सरकारले समयमै स्पष्ट नीति तथा कार्यरणनीतिसहित युवा लक्षित कार्यक्रमहरु ल्याउनुपर्ने बताए।
४०–५० लाखको गाडी चढ्न कोही पनि युवाहरु विदेशिनु नपर्ने बरु यहीँ सामाजिक प्रतिष्ठा र स्वतन्त्रतासहित यहीँ केहीँ गर्न सक्ने सम्भावना रहेको उनले बताए। विदेशमा कमाएको पैसाले घर गाडीको किस्ता हाल्दाहाल्दै जीवन सकिने अवस्था रहेकोमा नेपालमै केहीँ सहज नीति भए युवाहरुले यहीँ घर पनि जोड्न सक्ने र गाडी पनि चढ्न सक्ने स्थिति बन्ने उनको भनाइ थियो।