काठमाडौं । नेपाल उद्योग परिसंघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत देशका विभिन्न ९ अस्पताललाई २०० थान अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको छ । परिसंघका अध्यक्ष सतिशकुमार मोरले स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीमार्फत अक्सिजन सिलिण्डर हस्तान्तरण गरेका हुन ।
परिसंघले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जलाई ५० थान, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुलाई ३० थान र धुलिखेल अस्पताललाई २० थान सिलिण्डर हस्तान्तरण गरेको छ ।
यसैगरी परिसंघले महाकाली अञ्चल अस्पताल महेन्द्रनगरलाई १० थान, सेती अञ्चल अस्पताल धनगढीलाई २० थान, राप्ती अञ्चल अस्पताल दाङ्गलाई १० थान, भेरी अञ्चल अस्पताल नेपालगञ्जलाई १० थान, लुम्बिनी अञ्चल अस्पताल बुटवललाई ३० थान र कोसी अञ्चल अस्पताल विराटनगरलाई २० थान अक्सिजन सिलिण्डर उपलब्ध गराएको छ ।
मन्त्रालयमा भएको हस्तान्तरण कार्यक्रममा मन्त्री त्रिपाठीले विपदको समयमा सहयोगका लागि परिसंघलाई धन्यवाद दिए । उनले अहिलेको संकटको अवस्थामा सरकारलाई सहयोग गरेकोमा निजी क्षेत्रप्रति आभार व्यक्त गरे ।
परिसंघका अध्यक्ष मोरले संकटमा सबै एकजुट भएर अघि बढ्नुपर्ने उल्लेख गर्दै निजी क्षेत्रको तर्फबाट सरकारलाई सधैं साथ र सहयोग रहने बताए । उनले भविष्यमा समेत सरकारलाई निजी क्षेत्रको तर्फबाट यस्तै सहयोग रहने उल्लेख गरे ।
कोभिड १९ को संक्रमण बढ्दै जाँदा देशभरका अस्पतालमा उपचारका लागि अत्यावश्यक अक्सिजन ग्यास तथा सिलिण्डर अभाव भइरहेको छ । परिसंघले कोभिड संक्रमितको उपचारमा चाप ब्यहोरेका अस्पतालका लागि सिलिण्डर उपलब्ध गराएको हो । कार्यक्रममा परिसंघका बरिष्ठ उपाध्यक्ष विष्णु अग्रवाल एवं उपाध्यक्ष सुलभ अग्रवालको उपस्थिति थियो ।