काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले कोभिड संक्रमित बिरामीका लागि सञ्चालन गरेको हेल्लो डाक्टर स्वास्थ्य परामर्श र कोभिड–१९ सहायता केन्द्रबाट ८ सय बढीले सेवा लिएका छन् । जेठ ६ गतेसम्मको तथ्यांकअनुसार साढे ५ सय बढी कोभिड संक्रमित बिरामीहरूले डाक्टरबाट स्वास्थ्य परामर्श र सहायता केन्द्रबाट करिब २ सय ५० जनाले आवश्यक स्वास्थ्य सहायता लिएका हुन् ।
भाइबरको सहकार्यमा डाक्टर अन कलका चिकित्सकहरूले बिरामीहरूलाई स्वास्थ्य परामर्श दिइरहेका छन् । महासंघले उक्त सेवाको सुरुवात वैशाख २६ गतेबाट गरेको थियो । कोभिड सहायता केन्द्रबाट सामान्य लक्षण भएकादेखि गम्भीर प्रकृतिका बिरामीले सहयोगका लागि आग्रह गर्ने गरेको महासंघको भनाइ छ । केन्द्रले डेढ वर्षको बच्चादेखि ८९ वर्षसम्मका जेठ नागरिकलाई सेवा दिएको छ । देशभरिबाट दैनिक १६/१७ जनाले सहयोग लिने गरेका छन् ।
सर्वसाधारणको जीवन रक्षामा सहयोग पुर्याउने उद्देश्यले स्थापना गरिएको सहायता केन्द्रबाट आइशोलेसन केन्द्र सहजीकरण, अक्सिजन सिलिण्डर, अस्पताल, एम्बुलेन्स, हवाई तथा यातायात व्यवस्थापन लगायतमा सहयोग तथा समन्वय भइरहेको छ ।
कोभिड संक्रमण भई घरमा बस्ने ठाउँ नभएका तथा निम्न आय भएका परिवारका सदस्यलाई खानपान र औषधिको उचित व्यवस्था सहितको आइशोलेसन केन्द्र मिलाई दिने, डाक्टरसँग स्वास्थ्य परामर्शको उचित व्यवस्थापन गरी दिने लगायतका कार्य सहायता केन्द्रले गर्दै आएको छ ।
आइसोलेसन नपाएकाहरूलाई महासंघले आफैंले क्षेत्रपाटी र कमलपोखरीमा संचालन गरेको आइसोलेसन केन्द्रमा राख्ने प्रबन्ध मिलाइ रहेको छ । स्वास्थ्य परामर्शको लागि महासंघ आफैंले सञ्चालनमा ल्याएको हेल्लो डाक्टरमार्फत परामर्श दिने गर्छ । त्यस्तै आइसोलेसन सञ्चालनका लागि महासंघका वर्तमान तथा पूर्व पदाधिकारीहरू, कार्यकारिणी समिति सदस्यहरू, उद्यमी व्यवसायीहरूले औषधि, स्वास्थ्य उपकरण÷सामग्रीहरू सहयोग गरेका छन् ।
महासंघका अध्यक्ष शेखर गोल्छाको अध्यक्षतामा सहायता केन्द्रको समन्वय महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले गर्दै आएका छन् ।
महासंघका अभ्यक्ष शेखर गोल्छाले वरिष्ठ उपाध्यक्षको नेतृत्वमा रहेको टिमले राम्रो कार्य गरेको बताए ।
साथै सो कार्यमा आफ्नो साथ र सहयोग रहने अध्यक्ष गोल्छाको भनाइ छ । त्यस्तै महासंघकी निवर्तमान अभ्यक्ष भवानी राणा र निवर्तमान उपाध्यक्ष उमेशलाल श्रेष्ठले संकटको समयम सेवाको काम गरेको भन्दै उक्त कार्यमा संलग्नको उच्च प्रशंसा गरेका छन् ।
त्यस्तै महासंघका कार्यकरिणी समिति सदस्य राजन श्रेष्ठ, पूर्वकार्यकारिणी समिति सदस्य अखिल चापागाइ, र अशोककुमार टेमानी तथा व्यवसायी संदेश श्रेष्ठले महासंघले सञ्चालन गरेको हेल्लो डाक्टर स्वास्थ्य परामर्श र कोभिड–१९ सहायता केन्द्रको प्रशंसा गरेका छन् ।