काठमाडौं । जावलाखेल ग्रुप अफ इण्डष्ट्रिजले कोभिड–१९ महामारीको सामना गर्न २ करोड बढी सहयोग गरेको छ । इण्डष्ट्रिजले सामुदायिक अस्पतालको स्वास्थ्य सेवालाई विस्तार गर्न अक्सिजन, भेन्टिलेटर, आईसीयूलगायत अन्य स्वास्थ्य सामग्री खरिदका लागि रकम सहयोग गरेको हो ।
सामुदायिक अस्पतालको स्वास्थ्य सेवालाई विस्तार गर्न देशका विभिन्न प्रदेशमा स्थानिय सामुदायिक संस्थाको अग्रसरतामा कोभिड–१९ प्रभावित समूहलाई लक्षित गरी रकम सहयोग गरिएको इण्डष्ट्रिजले जनाएको छ ।
उक्त सहयोगमा अक्सिजन प्लान्ट र आईसीयू विस्तारका लागि धुलिखेल अस्पताललाई १ करोड ३५ लाख, देशका विभिन्न प्रदेशका सामुदायिक समूहको प्रयासका लागि ७५ लाख प्रदान गरिएको छ ।
जसमा इण्डष्ट्रिजले नेपाल भेन्टिलेटर सर्भिसलाई हाई–फ्लो क्यानुल्स भेन्टिलेटर खरिद गर्न, वीरगन्ज महानगरपालिकामार्फत वीरगन्जमा अस्थायी कोभिड अस्पताल सञ्चालनका लागि सहयोग गरेको हो ।
साथै ललितपुर महानगरपालिका र ज्यापु समाजको सहयोगमा ललितपुरका रोटरी क्लबहरूमार्फत सञ्चालित आइसोलेसन सेन्टरका लागि उपकरण र सामग्री खरिद तथा विराटनगरमा अक्सिजन सहितको आइसोलेसन सेन्टर सञ्चालनका लागि रोटरी क्लब अफ विराटनगर युनिकलाई सहयोग गरेको छ ।
त्यस्तै रोटरी क्लब अफ बिर्तामोडलाई झापामा अक्सिजन बैंक सञ्चालनको लागि तथा रोटरी क्लब अफ धनगढीलाई धनगढी–कैलालीमा अक्सिजन बैंक सञ्चालनका लागि सहयोग रकम उपलब्ध गराएको छ ।
इण्डष्ट्रिजले लायन्स क्लबअफ बुटवलमार्फत बुटवलमा अक्सिजन ग्यास भर्न, रोटरी क्लबअफ भैरहवामार्फत भैरहवामा सञ्चालित आइसोलेसन सेन्टरका लागि उपकरण खरिदमा सहयोग गरेको हो ।
जावलाखेल ग्रुप अफ इण्डष्ट्रिजले भैरहवा चेम्बर अफ कर्मसमार्फत रुपन्देहीमा सञ्चालित अक्सिजन ग्यास भर्न र देशभरि रहेका आफ्ना ग्राहक तथा स्थानीय समुदायका लागि ५ लाख फेस मास्क वितरण गरेको छ ।
इण्डष्ट्रिजका अध्यक्ष विजयकुमार शाह नेपालको सबैभन्दा बढी कर तिर्ने व्यक्तिगत करदाता हुन् । उनले व्यक्तिगत रूपमा पनि विभिन्न ठाउँमा सहयोग गर्दै आएका छन् ।