मैनहिया । अर्घाखाँची सिमेन्ट प्राइभेट लिमिटेडले सियारी गाउँपालिका–२ मैनहियामा निर्मित मैनहिया स्वास्थ्यचौकीको उद्घाटन गरेको छ ।
सो भवन लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री भोजप्रसाद श्रेष्ठ र अर्घाखाँची सिमेन्ट प्राइभेट लिमिटेडका निर्देशक राजेशकुमार अग्रवालले संयुक्त उद्घाटन गरे । अर्घाखाँची सिमेन्ट प्राइभेट लिमिटेडले स्वास्थ्य सामग्रीसहित भवन निर्माण गरेर हस्तान्तरण गरेको हो । सो भवन निर्माणमा ७० लाख रुपैयाँ लागेको छ ।
अर्घाखाँची सिमेन्ट प्रालि कानिर्देशक राजेशकुमार अग्रवालले भने, मैनहिया ‘गाउँपालिकाका जनसमुदायहरूलाई पहिले स्वास्थ्यचौकी आफ्नो घरबाट धेरै टाढा भएकाले समस्या उत्पन्न भएको थियो तर अहिले मैनहिया गाउँपालिकाको जनसमुदायको हितमा निर्माण गरिएको सबैका लागि सजिलै पहुँचमा निर्मित रहेको यस मैनहिया स्वास्थ्यचौकी भवनले अत्यन्तै सहज बनाउ छ भन्ने हामीले आशा राखेको छौं ।
हामीले यो भवन जनहित र सामाजिक उत्तरदायित्वअन्तर्गत निर्माण गरेका हौं ।’ लुम्बिनी प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री भोजप्रसाद श्रेष्ठले भने, ‘सम्पूर्ण जनमानसको लागि गरिएको यो प्रशंसनीय कार्यका लागि हामी अर्घाखाँची सिमेन्ट प्राइभेट लिमिटेडलाई धन्यवाद ज्ञापन गर्न चाहन्छौं ।
कोभिड–१९ को नियन्त्रण र मैनहिया गाउँपालिकाको जनहितका लागि यो स्वास्थ्यचौकीलाई व्यवस्थित गरिनेछ । सो स्वास्थ्यचौकीमा ब्लड प्रेसर नापन गर्ने, एक्स रे लिने र चिकित्सकद्वारा परमर्श लिने जस्ता विभिन्न सुविधाहरू उपलब्ध रहेकाले यो एक सम्पन्न स्वास्थ्यचौकीको रूपमा रहेको छ ।’
अर्घाखाँची सिमेन्ट प्राइभेट लिमिटेडले आफ्नो स्थापनाकालदेखि नै विभिन्न सामाजिक उत्तरदायित्व कार्यहरू गर्दै आइरहेको छ । कम्पनीले मैनहिया गाउँपालिकाका विद्यालयलाई पठन–पाठनका लागि साम्रगी वितरणका साथसाथै विगतमा पनि स्थानीय निकायलाई शिक्षा, सरसफाइ, खाना र सडक निर्माणमा सहयोग पुर्याउँदै आइरहेको छ ।