काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अनुसार कोभिडका कारण ७० प्रतिशत उद्योग व्यवसाय प्रत्यक्ष प्रभावित भएका छन् । बन्दाबन्दी र निषेधाज्ञाले उद्योग व्यवसायमा असर पारे पनि यतिबेला महासंघको सञ्जाल नै मुलुकभित्र कोभिड महामारीका विरूद्धमा लड्दै आमसर्वसाधारणको स्वास्थ्य सुरक्षा र सहयोगमा जुटिरहेको छ । कोभिडको दोस्रो लहरको महामारिका कारण वैशाख १६ गतेदेखि उपत्यका र त्यसअघि केही जिल्लाहरूबाट शुरू भएको लकडाउन र निशेधाज्ञा अहिले एक दुईवटा जिल्ला बाहेक सबैमा जारी छ ।
महासंघले आफ्ना सातै प्रदेशका सदस्य उद्योग वाणिज्य संघका पदाधिकारीहरूसँग जारी बन्दाबन्दी र निषेधाज्ञाले उद्योग व्यवसायमा पारेको असरका विषयमा टेलिफोन सम्वाद हुँदा मुलुकभर करिब ६८ देखि ७० प्रतिशत उद्योग व्यवसाय कोभिडका कारण प्रत्यक्ष प्रभावित भएको पाइन्छ । प्रदेशगत रूपमा हेर्दा प्रदेश नम्बर १(८२.७ प्रतिशत), गण्डकी प्रदेश(७५ प्रतिशत ),बागमती प्रदेश(६९ प्रतिशत), प्रदेश नम्वर २(६९ प्रतिशत), लुम्बिनी प्रदेश(६४.५ प्रतिशत ),सुदूरपश्चिम(५७.७ प्रतिशत ) र कर्णाली प्रदेशमा (४५.५ प्रतिशत) उद्योग व्यवसायमा असर पर्न गएको देखिन्छ ।
खाद्यान्न, स्वास्थ्यसँग सम्बन्धी, स्वास्थ्य तथा अत्यावश्यक वस्तु तथा सेवामा आधारित उद्योग व्यवसाय, पिउने पानी, कृषि बाहेक सबै क्षेत्रका उद्योग व्यवसाय ठप्प छन् । पसलहरू बिहान ३–४ घण्टा मात्र खुल्ने गरेका छन् । उद्योग व्यवसाय चलाउने लाखौं मानिसहरू घरभित्र थुनिएर बसेका छन् । यो बेलामा उद्योग व्यवसायभन्दा पनि सामाजिक भावना अनुरूप आम नेपालीको स्वास्थ्य बचाउनु ठूलो कुरा भएकाले सिंगो निजी क्षेत्रले सम्पूर्ण रूपमा सरकारलाई साथ दिइरहेको छ ।
कोभिड महामारीको चपेटामा उद्योगी व्यवसायीहरू पनि परेका छन् । कतिपय उद्योगी व्यवसायीको कोभिडकै कारण ज्यान समेत गैसकेको छ । संक्रमित हुनेको संख्या पनि निकै ठूलो हुनसक्छ । आफ्नो ज्यानको समेत परवाह नगरी अहिले उद्योग व्यवसाय क्षेत्र अग्रभागमा रहेर सकेको सहयोग गर्न जुटिरहेको छ ।
दोस्रो लहरको कोभिड संक्रमणको विस्तार भएसँगै महासंघले विषम परिस्थितिमा निजी क्षेत्र, सरकार र आम सर्वसाधारणको साथ रहेको प्रतिबद्धता जनाउँदै आफ्नो सिंगो सञ्जाललाई आआफ्नो क्षेत्र र आआफ्नो तहबाट सहयोगमा उत्रन अपिलसमेत गरयो । सोहीअनुसार महासंघको सञ्जाल यतिखेर परिचालित भएको छ ।
उद्यमी व्यवसायीहरू कोभिड समस्यामा परेका मानिसहरूलाई सहयोग गर्न अहोरात्र खटिरहेका छन् । आइशोलेशन निर्माण, सञ्चालन, स्वास्थ्य सामग्रीहरूको व्यवस्था, अक्सिजन/कन्सन्ट्रेटर लगायतका अत्यावश्यक औषधिहरूको सहज आपूर्ति, अक्सिजन बैंकको स्थापना मार्फत अक्सिजन आपूर्ति, स्वास्थ्य सामग्रीहरू हस्तान्तरण, हेल्प डेस्कमार्फत सहयोगमा जुटिरहेका छन् ।
त्यस्तै स्वास्थ्य परामर्श, एम्बुलेन्स सेवामा सहजीकरण, बिरामीलाई अस्पतालसम्म लैजान यातायातको समन्वय, वेड तथा भेन्टिलेटरको व्यवस्था, खाद्यान्न सामग्रीको वितरण तथा खाना खुवाउने प्रवन्ध, जनचेतना विस्तारमा निजी क्षेत्र खटिरहेको छ । महासंघले यसबीचमा संघहरूसँग गरिएको सम्पर्कका आधारमा प्राप्त विवरणलाई अध्ययन गर्दा करिब १ सयवटा जिल्ला नगर उद्योग वाणिज्य संघहरू यतिवेला कुनै न कुनै रूपमा मानवीय सहायता जोडिएका छन् ।
झापा उद्योग संघ, झापा उद्योग वाणिज्य संघ, मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ, ताप्लेजुङ, पाँचथर, इलाम, मेची, दमक, उर्लावारी, इनरूवा, त्रियुगा, उदयपुर, संखुवासभा, धनकुटा, पांचथर, सुनसरी, खोटाङ, ओखलढुंगा, भोजपुर, बर्दिवास, बरा, वीरगन्ज, सर्लाही, जनकपुरधाम जलेश्वर, लहान, जितपुर सिमरा, महोत्तरी, सिराहा, रामनगर मिर्चैया, सप्तरी, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, भक्तपुर, ललितपुर, काभ्रे, नेउवा काठमाडौं, चितवन, मकवानपुर, खैरहनी, मलंगवा, गौशाला, रत्ननगर, थाहानगर, सिन्धुली छन् ।
त्यसैगरी धुलिखेल, पोखरा,स्याग्जा, वालिङ, पर्वत, बाग्लुङ, म्याग्दी, गैंडाकोट, नवलपुर, देवचुली, मुस्तांग कपिलबस्तु, चन्द्रौता, बर्दिया, गुलरिया, हुम्ला, तौलिहवा, तिलोत्तमा, लेखनाथ, गोरखा, तनहुँ, वुटवल, सिद्धार्थनगर, देउखुरी, नेपालगंज, गुल्मी, कपिलवस्तु, दाङ, तुलसीपुर, प्यूठान, तौलीहवा, रोल्पा, पाल्पा, कोहलपुर, सुर्खेत, सल्यान, कालीकोट, जांजरकोट, जुम्ला, मुगु, रूकुम, कैलाली, कंचनपुर, टिकापुर, अत्तरिया, अछाम, बझाङ, वैतडी उद्योग वाणिज्य संघहरूले आ–आफ्ना कार्य क्षेत्रमा प्रत्यक्ष रूपमा मानवीय सहायता कार्यमा जोडिएको पाइएको छ ।
महासंघका केही सदस्य उद्योग वाणिज्य संघहरूले राहत कोषनै खडा गरी स्वास्थ सहयोग गरीरहेका छन् । कतिपयले स्थानीय निकाय र अस्पतालसँग समन्वय गरी वेड विस्तार, आइसियू वार्ड निर्माण, कोरोना विशेष अस्पताल निर्माण, आइसोलेसन केन्द्र निर्माण तथा सञ्चालन लगायतमा सहयोग गरिरहेका छन् । त्यस्तै कतिपय संघहरूले स्थानीय निकाय र स्थानीय अस्पतालसँग मिलेर अक्सिजन प्लान्ट स्थापनाकै तयारीमा लागेका छन् ।
विशेषगरी अधिकांशबाट अक्सिजनको व्यवस्थापन, अक्सिजन संकलन तथा वितरण, रेमडेसिभर लगायतका अत्यावश्यक औषधि तथा स्वास्थ्य सामग्रीहरूको संकलन तथा वितरणमा सहयोग रहेको पाइन्छ । बिहान बेलुका खान समस्या भएकालाई खाद्यान्नको जोहो गरिदिनेदेखि जनचेतना बिस्तारमा पनि संघहरूबाट सहयोग भैरहेको बुझिएको छ ।
महासंघका वस्तुगत संघहरूले पनि आआफ्नो तहबाट सहयोग गरिरहेका छन् । त्यस्तै महासंघका सदस्य एसोसिएट सदस्य औद्योगिक एवं व्यवसायिक घरानाहरू, उद्योग प्रतिष्ठानहरू, बैकिङ क्षेत्रले विभिन्न अस्पतालहरूलाई आर्थिक सहयोग, अक्सिजन, औषधिसहित अत्यावश्यक स्वास्थ्य सामग्रीहरूको सहयोग तथा आआफ्ना कामदार कर्मचारीहरूको व्यवस्थापनमा समेत सहयोग गरिरहेको पाइन्छ ।
महासंघका सदस्य व्यावसायिक घरानाहरूको समेत पहलमा बाहिरबाट अक्सिजन प्लान्टहरू ल्याउने पहलसमेत भइरहेको छ । महासंघ आफैंले पनि काठमाडौं र ललितपुरमा गरी तीनवटा आइसोलेसन सञ्चालन गरी कोभिड संक्रमितहरूको उपचार, खाने बस्ने व्यवस्थाका लागि सहयोग गरिरहेको छ । यसका लागि महासंघले राहत कोषनै खडा गरेको छ ।
महासंघले क्षेत्रपाटीस्थित पुरानो गोरखा अस्पतालमा चलाएको आइसोलेसन केन्द्र अक्सिजन सहित चालु छ भने जैन निकेतन कमलपोखरी र अक्षेश्वर महाविहार ललितपुर अक्सिजनविनाको ड्राइ आइसोलेसनका रूपमा चालु छन् भने सवै आइशोलेशन केन्द्रमा चौविसै घण्टा स्वास्थ्य चेकजांच तथा औषधिको प्रवन्ध सहितको व्यवस्था छ । आवश्यकताका आधारमा थप विस्तार गर्दै जाने महासंघको योजना छ ।
निम्न आय भएका, कुनै लक्षण नदेखिएका संक्रमितहरू कामका लागि बाहिर जाने र त्यसबाट संक्रमणसमेत फैलन सक्ने उच्च खतरा रहेकाले त्यस्ता संक्रमितहरूलाई उचित वातावरणमा एकै ठाउ“मा राखी संक्रमण नियन्त्रणमा सहयोग पुर्याउने उद्देश्यले महासंघले आइसाेलेसन केन्द्र संचालनमा ल्याएको हो ।महासंघले कोभिड संक्रमित विरामीहरूको सहयोगका लागि संचालन गरेको हेल्लो डाक्टर स्वास्थ्य परामर्श र कोभिड–१९ सहायता केन्द्रबाट हालसम्म सयौं बिरामीहरूले स्वास्थ्य परामर्श र आवश्यक स्वास्थ्य सहायता लिएका छन् ।
महासंघले सञ्चालन गरेको स्वास्थ्य अभियानबाट संक्रमित बिरामी, तिनका परिवार र आफन्तहरूसहित धेरैलाई राहत पुग्न गएको छ । समग्रमा यी सवै पहलबाट हजारौ मानिसहरूलाई राहत पुग्न गएको छ । मानवीय सहायता कार्यलाई आआफ्ना प्रदेशमा प्रभावकारी व्यवस्थापन गर्न महासंघका प्रदेश च्याप्टहरू पनि त्यत्तिकै सक्रिय रहेका छन् । महासंघका सातै प्रदेशमा बलिया प्रदेश च्याप्टर रहेका छन् ।
महासंघको प्रदेश नम्बर १ ले कोरोना संक्रमणका कारण समस्यामा परेका उद्योगी व्यवसायीका परिवारको उपचार सहजीकरणका लागि समन्वय गर्न कोभिड क्राइसिस सपोर्ट ग्रुप नै खडा गरी सहयोग गरिरहेको छ । साथै ग्रुपले कोभिड खोपको प्राथमिकतामा औद्योगिक क्षेत्रमा काम गर्ने कामदार श्रमिकहरूलाई राख्नसमेत माग गरेको छ ।
उद्योगी व्यवसायीलाई खोपको प्राथमिकतामा राख्न र छिटो खोप ल्याउन महासंघको गण्डकी प्रदेशले अनुरोध गरेको छ । महासंघको प्रदेश नम्बर २, कर्णाली र सुदूरपश्चिम प्रदेशले जतिसक्दो छिटो खोप सर्वसुलभ बनाउनु पर्ने र यसका लागि खोप खरिदको जिम्मेवारी निजी क्षेत्रलाई दिन पर्ने माग अघि सारेको छ ।
लुम्बिनी प्रदेशले आम सर्वसाधारणलाई निःशुल्क खोपको व्यवस्था गर्न र उद्योगी व्यवसायीलाई सशुल्क खोपको प्रवन्ध गरिदिन सरकारसंग आग्रह गरेको छ । बागमती प्रदेशले बजार व्यवस्थापनमा सहयोगका साथै कोभिडका विषयमा जनचेतना विस्तारमा कार्य गरिरहेको छ ।