काठमाडाैं । मेलम्ची खानेपानी आयोजनाको पानी असार १ गतेदेखि काठमाडौं उपत्यकामा नआउने भएको छ । सुरुङ परीक्षणका लागि पानी बन्द गरिने भएको हो ।
मेलम्ची खानेपानी आयोजनाले सुरूङ परीक्षणका लागि पानी बन्द गर्नुपर्ने अवस्था आएको जनाएको छ। ‘हामीले परीक्षणकै क्रममा पानी पठाइरहेका थियौं, तीन महिनाको परीक्षण अवधि समाप्त भएको छ,’ आयोजनाका डिभिजनल इञ्जिनियर राजेन्द्र पन्तले बचाए।
सुरूमा पानी परीक्षण गरिएको २०७७ फागुन १० गतेबाट हो । साे सुरूङमा असार १ गतेदेखि पानी खाली गर्न सुरू गरिने पन्तले बताए।
अब इञ्जिनियरहरूको टोलीले सुरूङमा केही त्रुटि छन् छैनन् भनी हेर्नेछन्। पानी खाली गराउन १५ दिन लाग्नेछ। निरीक्षण गर्न १० दिन लाग्ने भएकाले याे समयमा पानी पठाउने अवस्था आउँदैन उनले भने।
ठेक्का सम्झौता समापन पनि गर्नुपर्ने बेला भएको उनले बताए। त्यसकारण एक पटक सुरूङ परीक्षण जरुरी भएको छ। ‘सुरूङमा कुनै त्रुटि नरहे ११ दिनबाट पानी पठाउन थालिने छ,’ पन्तले भने।
साे ठेक्का सम्झौता अनुसार सुरूङमा समस्या रहेको देखिए निर्माण कम्पनीले नै मर्मत गर्नुपर्ने प्रावधान छ। ‘प्राविधिक रुपमा परीक्षणको कार्यविधि छ, त्यही कार्यविधिअनुसार एकपटक परीक्षण गर्न लागेका हौं,’ पन्तले भने।
अहिले काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी आयोजनाबाट १७ करोड लिटर पानी आइरहेको छ । अब मेलम्चीको पानी नआउँदा काठमाडौं उपत्यकाका उपभाेगक्ताले पहिले जस्तै १ महिना पानीकाे अभाव भाेगनुपर्नेछ।
यो अभाव टार्ने उपाय भनेको पुरानो वितरण प्रणालीबाट आउने पानी हो। त्यसले अभावलाई केही हदसम्म मात्र टार्ने काठमाडौं उपत्यका खानेपानी लिमिटेडले जनाएको छ।