काठमाडौं । बुझेका लगानीकर्ताको आग्रहमै नेपाल धितोपत्र बोर्डले सेयर बजारमा सुशासन कायम गर्न खोजेपछि जलविद्युत, फाइनान्स र विकास बैंकको सेयर मूल्यमा उच्च गिरावट आएको छ ।
वित्तीय अवस्था नकारात्मक भएका, इपीएस नेगेटिभ भएका, वर्षौसम्म लगानीकर्तालाई केही दिन नसकेका कम्पनीको सेयर मूल्य अस्वभाविक रुपमा उचालिएपछि नियामक निकायले सुक्ष्म निगरानी बढाएपछि विकास बैंक, फाइनान्स र जलविद्यत कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ ।
केही बाहेक धेरै कम्पनीको सेयर मूल्यको वृद्धि स्वाभाविक बढेको छ । लकडाउनका कारण अर्थतन्त्रका अन्य क्षेत्र ठप्प भएको, अनलाइनबाटै कारोबार गर्न सकिने, ब्याजदर घटेको, रेमिट्यान्स बढेकोलगायत कारण सेयर बजारमा लगानीकर्ताको आकर्षण बढेको छ । बढ्दो बजारमा अनुशासनको अभाव भने देखिएको छ ।
सेयर मूल्य सधैंभरि बढ्दैन । राम्रा कम्पनीको मूल्य राम्रो नै हुन्छ । तर नराम्रा कम्पनीको मूल्य कसैले बढाएका रहेछन् भने कुनै दिन घटेर वास्तविक धरातलमा आउँछ । यो कुरा लगानीकर्ताले बझ्नुपर्छ । कम्पनीको अवस्था नबुझेरै लगानी गर्नेहरू अहिले जोखिममा रहेका छन् ।
साना लगानीकर्ताले कम्पनीको वित्तीय विवरण नहेरी सेयर किनिरहेका छन् । तर, ठूला र बुझेका लगानीकर्ताले अहिले पनि राम्रो कम्पनीको मात्रै सेयर किनिरहेका छन् । भोलि बजारमा करेक्सन आयो भने पनि वित्तीय विवरण खराब रहेका कम्पनीको सेयर मूल्यमा भारी गिरावट आउने र राम्रा कम्पनीको सेयर मूल्य कम मात्रामा घट्ने ठूला लगानीकर्ताहरु बताउँछन् ।
मंगलबार बैंकिङ समूह ६.८ अंक मात्रै घटेको छ भने सबैभन्दा बढी विकास बैंक २२२ अंकले घटेको छ । त्यसैगरी, मंगलबार फाइनान्स ८६ अंकले घटेको छ भने जलविद्युत् ९० अंकले घटेको छ । उत्पादनमुलक र अन्य समूहमा भने हरियाली देखिएको छ ।
मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३.७२ अंकले घटेर ३०२२.१० विन्दूमा आइपुगेको छ । सोमबार सूचकले नयाँ रेकर्ड बनाए पनि मंगलबार पुरानो रेकर्डलाई तोड्न सकेन । यसदिन १६ अर्ब ५२ करोड रुपैयाँ बराबरको ३ करोड कित्ता सेयर किनबेच भएको छ ।