काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चुहावट घटाएर ४ अर्ब १० करोड रुपैयाँभन्दा बढी थप आम्दानी गरेको छ । गत वर्ष विद्युत् प्राधिकरणले ५.१३ प्रतिशत चुहावट घटाएर १५.३२ प्रतिशतमा झारेको छ । अघिल्लो वर्ष चुहावट २०.४५ प्रतिशत थियो । १ प्रतिशत चुहावट घट्दा विद्युत् प्राधिकरणलाई ८० करोड रुपैयाँ आम्दानी बढ्ने गरेको छ ।
प्राधिकरणले औसत ७ रुपैयाँ ४३ पैसामा बिजुली किनेर १० रुपैयाँ ४७ पैसामा बिक्री गर्छ । १५ प्रतिशत चुहावट घटाउँदा प्रतियुनिट ८ रुपैयाँ ८९ पैसा हुन्छ । प्राधिकरणले बिजुली बिक्रीबाट प्रतियुनिट १ रुपैयाँ ४६ पैसा आम्दानी गर्छ ।
चुहावट नियन्त्रणलाई प्रभावकारीरुपमा अघि बढाएपछि प्राधिकरणको आम्दानी बढेको कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । उनले यो वर्ष चुहावट अझ घटाएर आम्दानी बढाउने बताए । बिजुली चुहावट घटेर सार्क क्षेत्रको हाराहारीमा आएको उनले सुनाए ।
१० वर्षअघि प्राधिकरणको बिजुली चुहावट २८.९१ प्रतिशत थियो । पछिल्ला वर्षमा चुहावटमा कमी आएको उनको भनाइ छ । ३ वर्षमा मात्रै चुहावट १०.४६ प्रतिशतले कमी आएको छ ।
गत वर्ष कुल विद्युत् उपलब्धता ७ अर्ब ५५ करोड युनिट पुगेको छ । जसमध्ये विद्युत् प्राधिकरणका आयोजनाबाट २ अर्ब ५५ करोड, निजी क्षेत्रबाट २ अर्ब १९ करोड र भारतबाट २ अर्ब ८१ करोड युनिट बिजुली आयात भएको छ । गत वर्ष ३२ करोड र साउनमा ५० करोड रुपैयाँको बिजुली भारतमा निकासी भएको प्राधिकरणले मङ्गलबार आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
चुहावट घटाएका कारण गत आर्थिक वर्षमा प्राधिकरणले ७ अर्ब २० करोड रुपैयाँ खुदनाफा गरेको छ । अघिल्लो वर्षको भन्दा ४ अर्ब ३६ करोड रुपैयाँ नाफा बढी हो ।
लामो समयदेखि घाटामा रहेको प्राधिकरणले पछिल्लो २ वर्षदेखि नाफा कमाउन थालेको हो । अघिल्लो आर्थिक वर्ष २०७४/०७५ मा २ अर्ब ८४ करोड ८१ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।