काठमाडौं । सेयर बजारले अनुशासन गुमाएसँगै नियामक निकाय धितोपत्र बोर्ड हस्तक्षेपकारी भूमिकामा उत्रिए बुधबार सेयर बजारमा पहिरो गएको छ ।
बोर्डले मंगलबार ५१ वटा कम्पनीमा लगानीकर्ताले गरेको लगानीलाई जोखिमको सूचीमा राखेर नामावली प्रकाशित गरेपछि त्यसको असर बुधबारको सेयर सूचकमा परेको हो ।
प्रतिशेयर आम्दानी ऋणात्मक भएको, प्रतिशेयर अंकित मूल्यभन्दा प्रतिशेयर नेटवर्थ कम भएका, कम्पनीको वर्तमान वित्तीय क्षमताको मूल्यांकन समेतलाई विश्लेषण गरेर नगरी लगानी गरेको र सोही कारण धेरै लगानीको पैसा डुब्ने खतरालाई आँकलन गरेर नामावली प्रकाशित गरेपछि बुधबारको सेयर बजारमा त्यसको ठूलो असर परेको हो ।
बोर्डले बारम्बार राम्रा कम्पनी हेरेर मात्रै लगानी गर्न लगानीकर्तालाई आग्रह गरेको थियो । तर, लगानीकर्ताले अन्धाधुन्ध लगानी गरेपछि बोर्डले नियामकीय भूमिका देखाउँदा बजार हलचल मच्चिएको हो ।

सुरुमा ह्वात्तै घटेको बजार विस्तारै केही सम्हालिने कोशिस गरेको थियो । त्यही बेला साना लगानीकर्ता आत्तिएर प्यानिक सेलमा उत्रिएपछि सेलिङ प्रेसर बजारले थेग्न सकेन र घट्न थाल्यो ।
११ बजेट १३ मिनेटमै बजार ३०२२ अंकमा पुगेको थियो । ११ बजेर २८ मिनेटमा पुनः बजार घटेर २९८९ अंकमा झरेको थियो । खासगरी साना लगानीकर्ताले घाटामै सेयर बेच्न थालेको देखिन्छ । त्यही भएर बजारले गति लिन सकेन ।
केही समय सेयर किन्नेहरुको भीड देखिन्थ्यो । तर, पछि लगानीकर्तामा मनोवैज्ञानिक त्रास बढेकाले धमाधम सेयर बेच्न थालेको देखिन्छ । तर, १२ बजेर १६ मिनेटमा बजारले पुन आफ्नो बढोत्तरी लयलाई समातेको थियो । त्यो बेला सूचक ३०३० सम्म पुगेको थियो । त्यसपछि निरन्तर लगानीकर्ता प्यानिक सेलमा उत्रिँदा बजारले ओरालो यात्रा तय गरेको देखिन्छ । निरन्तर ओरालो लागेको बजार २९४४ सम्म सूचक आइपुगेको हाे ।

त्यसपछि बजार फेरि केही सम्हालिन थालेको देखिन्छ । विस्तारै बढ्दै गएको देखिन्छ ।
बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५२.४१ अंकले घटेर २९६९.६९ अंकमा रोकिएको छ । दिनभर सूचक घट्ने बढ्ने चलिरह्यो । तर, बजार बन्द हुने बेलामा सूचक बढेर बन्द भएकाले बिहीबार नेप्से बढ्ने देखिन्छ ।
यसदिन सबैभन्दा बढी निर्जीवन बिमाको मूल्यमा गिरावट आएको छ । विकास बैंक, होटल्स एन्ड टुरिजम्स, हाइड्रो पावर, फाइनान्सको सेयर मूल्यमा पनि भारी गिरावट आएको छ । यसदिन बैंकिङ उपसूचक भने झिनो अंकले घटेको छ ।
बजारमा प्यानिक सेल बढी भएकाले सूचक घटेको हो । तर, कारोबार रकमले भने साथ दिएको छ । सदाझै यसदिन पनि कारोबार रकममा बढोत्तरी देखिएको छ । बुधबार साढे १५ अर्ब कारोबार भएको छ ।