काठमाडौं । कोरोना भाइरसको संक्रमण रोक्न सरकारले बन्दाबन्दी (लकडाउन) गरेपछि सम्पूर्ण उद्योगधन्दा बन्द भए । कार्यालय खुलेनन् । उद्योग तथा कर्पोरेट अफिसका कर्मचारीहरु घरघरमै बसे ।
आर्थिक गतिविधि ठप्प बन्यो । अत्यावश्यक बाहेक सम्पूर्ण ढुवानीका साधनहरु ग्यारेजमै रोकिए । उद्योगको गेटमा ताल्चा लागेपछि नेपाल गुणस्तर तथा नापतौल विभागका कर्मचारी नमूना सङ्कलनका लागि बजारमा जानु परेन । तर, विभागले नमूना संकलन, परीक्षण खर्च गर्नुपर्ने समय विभिन्न वस्तुको नेपाल गुणस्तर (नेपाल स्ट्याण्डर्ड) निर्माणमा लगाएको छ ।
‘सरकारले लकडाउन गरेपछि उद्योग उद्योगमा नमुना संकलनमा लागि जानू परेन, त्यही भएर धेरै वटा वस्तुको नेपाल गुणस्तर निर्माण गर्न सहज बन्यो,’ विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले क्यापिटल नेपालसँग भने, ‘बन्दाबन्दीकै बीचमा आधादर्जन वस्तुहरुको नेपाल गुणस्तरको मस्याैदा तयार भइसकेका छन् ।’
खासगरी, उद्योगहरु सञ्चालन भइरहेका भए विभिन्न समयमा नमुना संकलन र त्यसको परीक्षणमा अधिकांश समय खर्चिदा नेपाल स्ट्याण्डर्ड बन्न सकेको थिएन ।
‘विभागसँग पर्याप्त मात्रामा कर्मचारी नहुँदा एउटै व्यक्ति नमूना संकलनमा पनि जाने, सोही व्यक्तिले ल्याबमा उक्त नमुना परीक्षण पनि गर्नुपर्ने हुँदा नीतिगत रुपमा काम गर्न केही अप्ठेरो परेको थियो,’ महानिर्देशक पुडासैनीले भने, ‘बन्दाबन्दी पछि उद्योग धन्दा बन्द हुन पुगे । नमूना संकलन र परीक्षणमा लाग्नु परेन । त्यो समय नीति निर्माणमा लगाइएको हो ।’
अहिले विभागले कोरिडेटेड एचडीपीई पाइपको नेपाल गुणस्तर बनाइरहेको छ । ढल निर्माण गर्दा प्रयोग हुने उक्त पाइपको नेपाल गुणस्तर बनाइरहेको पुडासैनीले बताए । कोरिडेटेड एचडीपीई ठूलो आकारको पाइप हो ।
हिम पाइपको विकल्पको रुपमा यो पाइपलाई प्रयोग गरिँदै आएको छ । तर, हिम पाइपभन्दा हलुका हुने भएकाले धेरै जसो ठाउँमा यही पाइप प्रयोग हुँदै आएको हो ।
तर, यो पाइपको अहिलेसम्म नेपाल गुणस्तर थिएन । यो नेपालमै उत्पादन हुने र प्रयोग पनि दिनप्रतिदिन बढ्दै गइरहेको छ । त्यसैगरी, विभागले अक्सिजन, नाइट्रोजनलगायत सबै ग्यास सिलिन्डरको पनि मापदण्ड बनाइरहेका छ ।
विभागले पीभीसी–ओ पाइपको पनि नेपाल गुणस्तरको मस्यौदा पनि बनाइरहेको छ । जीआई पाइपको विकल्पमा प्रयोग गरिँदै आएको पीभीसीओ पाइपको पनि विभागले मापदण्ड बनाउन लागेको हो ।
खासगरी, जीआई पाइप खानेपानीमा प्रयोग गरिने कालो रङको पाइप हो । पीभीसी–ओ जीआई भन्दा सस्तो र गुणस्तरीय भएको र अहिले उक्त पाइपको प्रयोग अत्यधिक हुने थालेपछि नेपाल गुणस्तर बनाउन विभाग जुटेको पुडासैनीले बताए । उक्त पाइपको स्ट्याण्डर्ड बनाउन काठमाडौं उपत्यका खानेपानी लिमिटेडबाट पनि अनुरोध आएको थियो ।
त्यसैगरी, विभागले एमसीबी, एमसीसीबी, आरसीसीबी विद्युतीय उपकरणको पनि नेपाल गुणस्तर बनाइरहेको छ । घर–घरमा प्रयोग हुने यस्ता विद्युतीय उपकरणहरुको अहिलेसम्म नेपाल गुणस्तर थिएनन् ।
यी सबै प्रडक्टको नेपाल स्ट्याण्डर्ड तयार गरिसकिएको विभागले जनाएको छ । त्यसैगरी, टफन ग्लास, त्रिपालहरुको पनि नेपाल गुणस्तर बनाउन विभाग जुटेको छ ।