काठमाडाैं । बुधबार १ बजेसम्म ४४ अंकले घटेको बजारमा सामान्य करेक्सन आउन थालेपछि आत्तिदै सेयर बिक्रीमा उत्रिएका लगानीकर्ताहरु मंगलबार केही धैर्यता देखाउँदा बजारले बढोत्तरी यात्रा तय गरेको थियो । तर, बुधबार लगानीकर्ता आत्तिएर सेयर बेच्दा पुनः बजार घटेको छ ।
ठूला लगानीकर्ता किनेको मूल्यभन्दा तल झर्यो भने उनीहरु बेच्दैनन् । टिक्न सक्ने धैर्यता ठूला लगानीकर्तामा हुन्छ । तर, साना लगानीकर्ता आत्तिएर सेयर बेच्दा आर्थिक रुपमा ठूलो क्षति उनीहरुलाई पुग्छ ।
अहिले भएको त्यही हो । बजार घट्दा जति सेलिङ प्रेसर बढ्यो, त्यो सबै साना लगानीकर्ताले बेचेकाले यस्तो अवस्था सिर्जना भएको हो । यो बीचमा ठूला लगानीकर्ताले सेयर बेचेनन् । उनीहरु मार्केटमा परिपक्क पनि भइसकेका छन् । तर, साना लगानीकर्ताहरु मार्केट घट्ने वित्तिकै आत्तिने र हतार-हतार सेयर बेच्न उत्रिने गरेको देखिन्छ ।
सर्वसाधारण लगानीकर्ताले आत्मबल गुमाउँदा बजार कमजोर भएको हो ।लाभांशको मुखमा सबल वित्तीय सूचक भएका कम्पनीहरु होल्ड गर्न सके निकट भविष्यमा लाभ लिन सकिन्छ ।
आम लगानीकर्ताहरुले सुझबुझपूर्ण हिसाबले सबल वित्तीय सूचक भएका कम्पनीहरुमा लगानी गर्न सक्नुपर्छ । कम्पनीको सञ्चालक, व्यवस्थापन, विगतको कमाई, लाभांश वितरण क्षमता, भविष्यको योजना, व्यवसाय विस्तारको सम्भावना, आफ्नो जोखिम बहन क्षमता लगायतका पक्षमा ख्याल गर्दै अघि बढ्न जरुरी हुन्छ ।
१ बजेसम्म बजार ४४ अंकले घटेर २८६९.५९ अंकमा आइपुगेको छ । मंगलबार ७९ अंकले बजार बढेको छ । १ बजेसम्म ३ अर्ब ८२ करोड रुपैयाँबराबरको सेयर किनबेच भएको छ ।