काठमाडौं । सामान्यतया सेयर बजार प्रदर्शन (परफरमेन्स)का आधारमा चल्छ । तर, नेपालको सेयर बजार भिन्न छ । विश्वको सेयर बजार सूचीकृत कम्पनीको परफमेन्सका आधारमा चल्ने गरे पनि नेपालको सेयर बजार भने भावना (सेन्टिमेन्ट) र केही व्यक्तिको लहैलहैमा दौडिरहेको पाइन्छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले घट्ने टेन्ड समाउँदा राम्रो कम्पनीको धेरै र नराम्रो कम्पनीको सेयर मूल्य थोरै ओरालो लाग्छ । तर, नेप्से बढेको अवस्थामा जस्तोसुकै कम्पनीको मूल्य उकालो लागे पनि वित्तीय अवस्था राम्रो भएका कम्पनीको थोरै र कमजोर कम्पनीको मूल्य धेरै उकालो लाग्छ ।
कम्पनीको सेयर मूल्य परफमेन्सका आधारमा बढ्नुपर्ने हो । तर, नेपालमा कम्पनीको आधारभूत पक्ष (फन्डामेन्टल) नहेरी दोस्रो बजारमा लगानी गर्ने लगानीकर्ताको जमात बढिरहेको छ । सीमित वर्गमा केन्द्रित नेपालको सेयर बजार भरखरै विस्तारित हुन खोजिरहेको छ । केही समययता मात्रै साना तथा मध्यम खालका लगानीकर्ता दोस्रो बजार छिरेका छन् ।
उनीहरुले नेप्सेमा सूचीकृत कम्पनीको वित्तीय अवस्था, पीई रेसियो, इपीएस, आरओईलगायतका केही पनि सूचक नहेरी किन्ने गरेको देखिन्छ ।
कम्पनीमा पैसा लगानी गर्दा अनिवार्य रुपमा आफूले कस्तो कम्पनीमा लगानी गर्दै छु ? आफूले लगानी गर्ने कम्पनीले बार्षिक रुपमा कति प्रतिफल दिइरहेको छ ? एउटा लगानीकर्ताले आफूले किन्न लागेको कम्पनीको बारेमा सामान्य ज्ञान लिएर मात्रै लगानी गर्नुपर्ने हो । विदेशमा त्यसैगरी अध्ययन गरेर मात्रै लगानी गरिन्छ ।
वर्षौदेखि सेयर बजारमा लगानी गरेर राम्रो प्रतिफल दिइरहेका लगानीकर्ताहरुका अनुसार बजार घट्दा राम्रो कम्पनीको मूल्य पनि आरोलो लाग्छ । बजार बढ्दा नराम्रा तथा वित्तीय विवरण कमजोर भएका कम्पनीको मूल्य पनि उकालो लागेको देखिन्छ । यसैबाट बुझिन्छ, नेपाली लगानीकर्ता कम्पनीको पर्फमेन्स हेरेर लगानी गर्दैनन् ।
यसले नेपालका लगानीकर्तामा सेयर सम्बन्धी साक्षरताको कमी देखिन्छ । यदि सेयर लगानीकर्तामा सेयर सम्बन्धी साक्षरता भएको भए राम्रा कम्पनीको मूल्य जहाँको त्यही रहने र वर्षौदेखि केही नदिने कम्पनीको मूल्य आकाशिने अवस्था हुँदैन्थ्यो ।
नेपाल धितोपत्र बोर्डले सेयर बजारसम्बन्धी साक्षरता कार्यक्रम चलाउनुपर्ने देखिन्छ । नियामक निकायले बेलैमा भरखरै सेयर बजारमा प्रवेश गरेको साना तथा मझौला लगानीकर्तालाई साक्षर बनाउन नसक्ने हो भने आगामी दिनमा सेयर बजारबाट ठूलो धोका खाएर जीवनभर बजारमा प्रवेश नगर्ने अवस्था आउँछ ।
सेयर बजारबाट मनग्य कमाइन्छ भनेर पछिल्लो समय धेरै व्यक्तिहरु सेयर बजारमा प्रवेश गरेका छन् । त्यस्ता लगानीकर्ताको मनमा जुन सेयर किने पनि मनग्य कमाइन्छ भन्ने छ । तर, राम्रा कम्पनीले मात्रै प्रतिफल दिने हुँदा नराम्रा कम्पनीमा गरिएको लगानी बालुवामा पानी सरह हुँदा उनीहरुमा निशारा पैदा हुन्छ, बजारप्रतिको विश्वास नै गुम्ने अवस्था आउँछ ।
सेन्टिमेन्टका आधार सेयर बजार चल्नु राम्रो होइन । सेयर बजार जहिले पनि परफमेन्समै आधार भएर चल्नुपर्छ । यदि परफमेन्सका आधार बजार चल्ने हो भने बजार घट्दा पनि राम्रा कम्पनीको मूल्य झर्दैन । बढ्दा पनि राम्रा कम्पनीको मात्रै सेयर मूल्य बढ्छ ।