काठमाडौं । अर्घाखाँची सिमेन्ट प्राथमिक (आईपीओ) निष्कासन गर्न कम्पनीलाई प्रालिबाट लिमिटेडमा परिणत भएको छ । आइतबार कम्पनी रजिष्ट्रारको कार्यालयले अर्घाखाँचीलाई लिमिटेडमा परिणत गरेको पत्र दिएको हो ।
अर्घाखाँचीले यसअघि नै कम्पनीलाई आईपीओमा लैजाने तयारी सुरु गरेको थियो । त्यसैको पहिलो चरणको रुपमा कम्पनीलाई लिमिडेट बनाएको हो । अब आर्थिक वर्ष २०७८/०७९ को वित्तीय विवरण लिएर आर्थिक वर्ष २०७९/८० मा धितोपत्र बोर्डमा आईपीओ निष्कासनका लागि निवेदन दिनेछ ।
अर्घाखाँचीले गत आर्थिक वर्षबाट कम्पनीलाई आईपीओमा लैजाने प्रक्रिया थालनी गरेको थियो । त्यसैअनुरुप कम्पनीलाई लिमिटेड बनाउन लागेको हो । चालू आर्थिक वर्षभित्र लिमिटेड बनाएपछि मात्रै आगामी आर्थिक वर्षको वित्तीय विवरण लिएर आर्थिक वर्ष २०७९/८० मा मात्रै आईपीओ निष्कासनका लागि बोर्ड जान पाइन्छ । त्यही भएर कम्पनीले चालू आर्थिक वर्षभित्रै आफूलाई लिमिटेडमा परिणत गरेको हो ।
नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षसमेत रहेका व्यवसायी पशुपति मुरारकाको समेत लगानी रहेको सो उद्योगले आईपीओ जारी गर्नका लागि प्रबन्धपत्र र नियमावली संसोधन सुरु गरेर कम्पनी रजिष्ट्रार कार्यालयमा लिमिटेड अन्तरगत दर्ता गराएको थियो ।
पब्लिक कम्पनीको रुपमा परिणत नभई आईपीओ जारी गर्न पाइदैन । यसैकारण उद्योगको प्रबन्धपत्र र नियमावली संसोधन गरेर कम्पनीलाई पब्लिक कम्पनी बनाएको हो ।
धितोपत्र बोर्डले अंकित मूल्यमा प्रिमियम थपेर आईपीओ जारी गर्न मिल्ने व्यवस्था गरेको हो । ०६५ को धितोपत्र निष्कासन नियमावलीमा ३० प्रतिशत आईपीओ जारी गर्नुपर्ने व्यवस्था थियो । शंसोधित नियमावीले १० प्रतिशतमात्रै पनि पब्लिकमा जान पाइने व्यवस्था गरेको छ ।
सरकारले गत आर्थिक वर्षको बजेटमार्फत् पब्लिक सेयर निष्कासन गर्ने कम्पनीलाई आयकरमा १५ प्रतिशत छुटको घोषणा गरिसकेको छ ।
सर्वसाधारणलाई सेयर जारी गरेका कम्पनीहरुले हरेक तीन महिनामा कम्पनीको सम्पूर्ण वित्तीय विवरण सार्वजानिक गर्नुपर्ने हुन्छ । तर, निजी कम्पनीहरुले आफ्नो वित्तीय विवरण सार्वजानिक गर्नुपर्दैन ।