काठमाडौं । गत साताको अन्तिम दिन सामान्य बढेको सेयर बजार सूचक यो साताको पहिलो र दोस्रो दिन झन घटेको छ । जेठ ३१ गते ३०२५ अंक छोएर फर्किएको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) गत साता २७८६ सम्म पुगेर फर्किँदै २८४३ मा रोकिएको थियो ।
तर, आइतबार र सोमबार पुनः बजार सूचक ओरालो लागेपछि नेप्से सूचक फेरि २८०० बिन्दू नजिक आइपुगेको छ । मौद्रिक नीतिको पर्खाइ, असार मसान्तको दबाब र राजनीतिक अन्यौलताको भुमरीमा सेयर बजार रुमलिएको छ । जसको कारण कारोबार रकमसँगै कित्ता (भोल्यूम) पनि निरन्तर घटिरहेको छ ।
यसले लगानीकर्ताहरु अझै पर्ख र हेरको अवस्थामा रहेको बुझाउँछ । पछिल्लो समय जतिसक्दो बजार घटाएर सेयर खरिद गर्न चाहनेहरुको संख्या बढ्दो । निरन्तर बजार घट्दा झन् घट्ने हो की भन्ने त्रासले बेच्नका लागि पनि उत्तिकै दबाब छ ।
घटाएरै खरिद गर्ने उच्च आंकाक्षामा विक्रेताले सपोर्ट नगर्दा कारोबारलाई शिथिल बनाएको छ । बजार बढाउने निरन्तर प्रयास भइरहे पनि बढ्न सकेको छैन । सोमबार पनि सेयर कारोबारको प्याट्रन डब्ल्यू आकृति बन्ने कोसिस भएको छ । तर, सफल भएका छैनन् । डब्ल्यू आकार लिएर बजार फर्किएको भए बढ्ने अपेक्षा गर्न सकिन्थ्यो । सोमबारको कारोबारले बजार अझ घट्छ कि भन्ने आशंका गर्न सकिन्छ ।
२८०० बिन्दुबाट बजार तल झरेको खण्डमा २७०० देखि २७५० को बीचमा पुगेर रोकिन सक्छ । अझै बजार घट्ने ट्रेन्ड समायो भने लगानीकर्ता थप दबाबमा पर्छन् । सोमबारको कारोबारमा अन्तिम समयमा देखिएको सुधारले मंगलबार बजार केही माथि जाने अपेक्षा गर्न सकिन्छ ।
कारोबार खुल्दा २८४६ सम्म पुगेको बजार घट्दै २८१५ सम्म झरेको थियो । तर, अन्तिम समयमा केही सुधारिँदै ११.७८ अंकले घटेर २८२२.७३ बिन्दूमा कारोबार रोकिएको छ । यसदिन १ करोड ६ लाख कित्ता सेयर कारोबारबाट ४ अर्ब ५८ करोड २२ रुपैयाँ पुगेको छ । आइतबार ५ अर्ब ५ करोड रुपैयाँ बराबरको १ करोड ८ लाख ४२ हजार कित्ता सेयर किनबेच भएको छ । बिहीबार २ करोड २८ लाख ३९ हजार कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ७० करोड ७८ लाख रुपैयाँ कारोबार भएको थियो । कारोबार कित्ता नै घट्नु भने चिन्ताको विषय हो ।
घट्दो बजारमा पनि सोमबार व्यापार, उत्पादनमूलक तथा प्रशोधन अन्य समूह, सामूहिक लगानी कोष र लगानी उपसूमहका कम्पनीले कमाएका छन् । सबैभन्दा बढी विशाल बजार कम्पनी १० प्रतिशत, हिमालय डिष्ट्रिलरी ८ प्रतिशतले बढेको छ । बजार घटिरहँदा पनि सबैभन्दा धेरै गोर्खाज् फाइनान्सको ६.६३ प्रतिशत घटेको छ । यसदिन सबैभन्दा धेरै हिमालय डिष्ट्रिलरीको ४१ करोड २० लाख रुपैयाँबराबरको सेयर किनबेच भएको छ ।