बागमती । हेटौंडास्थित सरकारको पूर्ण स्वामित्वमा रहेको हेटौंडा सिमेन्ट उद्योग लिमिटेडलाई कारोनाको असहज परिस्थितिका कारण आर्थिक रुपमा ठूलो नोक्सानी बेहोर्नु परेको छ । गत आव ०७६/०७७ मा २५ करोड रुपैयाँ नोक्सोन भएको उद्योगमा चालु आव ०७७/०७८ मासमेत २५ करोड रुपैयाँ घाटा हुने प्रारम्भिक अनुमान गरिएको उद्योगले जनाएको छ ।
कारोनाको असहज परिस्थितिका कारण उद्योगमा हुने उत्पादन लागतमा वृद्धि, उद्योग सञ्चालन खर्च अन्य समयको तुलनामा बढी मूल्य पर्ने साथै योजनाअनुसार सिमेन्ट उत्पादन र बिक्री नभएकाले उद्योगलाई कारोनाको अहसज स्थितिका कारण आर्थिक रुपमा नोक्सानी पुगेको उद्योगका कामु प्रबन्धक (अर्थ) रामबाबु शाहले जानकारी दिए ।
दुई आवदेखि निरन्तर कोरोनाको असहज स्थितिका कारण योजनाअनुसार सिमेन्ट उत्पादन तथा बिक्री हुन नसक्दा घाटा बेहोर्नुपरेको हो । अझ सिमेन्ट बिक्रीको मुख्य याम चैतदेखि असारसम्ममा सिमेन्ट उत्पादन तथा बिक्रीमा कमी आउँदा उद्योगले ठूलो आर्थिक नोक्सानी भोग्नु परेको छ ।
उद्योग केही सीमित आवबाहेक अन्य धैरैजसो आवमा विविध कारणले आर्थिक रुपमा ठूलो नोक्सानीसहित सञ्चालन हुँदै आएको छ । पुराना मेसिनरी प्रविधि र पटकपटक बिग्रने समस्या तथा लागत खर्च बढी आउने कारणले अन्य निजी सिमेन्ट उद्योगसँग प्रतिस्पर्धा गर्न नसक्दा नोक्सानी हुदै आएको उद्योगका महाप्रबन्धक प्रेमशङ्कर सिंहले बताए ।
उद्योगको पछिल्लो अवस्था हेर्दा वार्षिक २ अर्ब रुपैयाा बराबरको वार्षिक आम्दानी देखिन्छ । सो भन्दा बढी वार्षिक खर्च देखिन्छ । उद्योगको बढी खर्च कर्मचारी पारिश्रमिक, कच्चापदार्थ व्यवस्थापन तथा मर्मतसम्भार क्षेत्रमा देखिन्छ ।
उद्योगका अनुसार यता आव २०७५/७६ मा पनि उद्योगले करीव १६ करोड ६५ लाख रुपैयाँ घाटा बेहोरेको देखिन्छ । यद्यपि आव ०७३/०७४ मा १५ करोड र आव ०७४/०७५ मा १६ करोड रुपैयाँ उद्योगले नाफा गरेको देखिन्छ । स्थापनाकालको अवस्थामा आव ०४८०४९ मा आर्थिक रुपमा केही नाफा देखिएको उद्योगमा पछिल्लो सबैजसो वर्ष घाटामा नै सञ्चालन हुँदै आएको अवस्था छ ।
उद्योगअन्तर्गत करीब १०१ बिघा क्षेत्रफलमा क्षेत्रफल रहेको छ भने करीब २०० बिघा क्षेत्रफल विभिन्न स्थानमा उद्योगका लागि आवश्यक कच्चापदार्थ खानी (चुनढुङ्गा) रहेको क्षेत्र छ । उद्योगको कच्चापदार्थका लागि मकवानपुरको ओखरे, भैसे, मजुवा र धादिङको जोगिमारामा चुनढुङ्गा खानी छ ।
चालु आव ०७७/०७८ मा ३१ लाख बोरा सिमेन्ट र १ लाख ५० हजार मेट्रिक टन क्लिङ्कर उत्पादन गर्ने लक्ष्य रहेको उद्योगको बिक्री महाशाखाले जनाएको छ । मुख्य याममा कोरोनाको असहज परिस्थितिका कारण चैत–असारमै लक्ष्यअनुसार सिमेन्ट बिक्री नहुँदा आर्थिक वर्षको अन्त्यसम्म लक्ष्य हासिल हुन नसकेको बिक्री महाशाखाले जनाएको छ ।
एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा २०३३ सालमा स्थापना भएको यस उद्योगमा तत्कालीन अर्थ मन्त्रालय, जलस्रोत मन्त्रालय, उद्योग मन्त्रालय, खानी विभागलगायत विभिन्न सरकारी निकायको समेत सेयर छ । यस उद्योगलाई नाफामूलक बनाउने अन्य निजी क्षेत्रबाट स्थापना गरिएका सिमेन्ट उद्योग सरह नयाँ प्रविधि जडान गरी अन्य निजी सिमेन्ट उद्योगसँग प्रतिस्पर्धा गर्न सक्ने गरी विकास गर्न आवश्यक रहेको उद्योगको तर्क छ ।
२०३३ मा स्थापित उद्योगले २०४८ सालबाट व्यावसायिक उत्पादन शुरु गरेको थियो । उद्योगमा हाल २८५ स्थायी र करीब १०० ज्यालादारी कर्मचारी तथा मजदूर कार्यरत छन् । रासस