विराटनगर । मजदुर निष्कासनको विरोधमा हुलास वायरका मजदुर आन्दोलित भएका छन् । मजदुर निष्कासन गरेको विरोधमा बूढीगंगा गाउँपालिकाको बाँसबारीमा रहेको हुलास वायर इन्डस्ट्रिजका मजदुरले बुधबार बिहानदेखि हड्ताल गरेका छन् ।
ग्रामथान गाउँपालिकाका बर्जुलाल माझीले हुलास वायर इन्डस्ट्रिजमा काम गर्न थालेको २० वर्ष भयो । गत बुधबारदेखि मंगलबारसम्मको ज्याला थापेर खुसी हुँदै घर गएका बर्जुलाई बिहान उद्योगमा काम गर्न आउँदा गेटबाट प्रवेश गर्नै दिइएन ।
गेटमा बसेका पालेले काम गर्न नआउनू भनेको छ, सूचना निकालिएकाहरूलाई भित्र प्रवेश नदिनू भन्ने निर्देशन आएको छ भनेपछि उनी छक्क परे । त्यहीँ बस्दै गर्दा उनीजस्तै काम गर्न आएका धेरै मजदुरलाई भित्र प्रवेश गर्न दिइएन । काम गर्न नदिएपछि बाहिर जम्मा भएका मजदुरहरूले उद्योगका कसैलाई पनि हुलास वायर इन्डस्ट्रिजभित्र प्रवेश दिएनन् ।
नियमित काम गर्दै आएकाहरूलाई एक्कासि काममा नआइज भनेर सूचना टाँस गरेपछि आन्दोलित हुनुपरेको अर्का मजदुर फेकु माझीले बताए । ‘सूचनामा निकालेको भनिएको छ, हामीलाई कुनै पनि जानकारी दिइएको छैन,’ उनले भने, ‘काम गर्न आउँदा एक्कासि काम गर्न प्रवेश नदिनु भनेपछि बाहिर बसेका हौं ।’

कम्पनीलाई घाटा भएको भनेर निकाली दिएको भनेर जानकारीमा आएको उनले सुनाए । एक्कासि सूचना निकालेर लेबर तथा मजदुरलाई नआउन भनेको उनीहरूको भनाइ छ । वर्षौंसम्म उद्योगमा काम गरेका दैनिक ज्यालादारी र करारका मजदुरलाई निकालिएको अर्का एक मजदुरले बताए ।
बिना जानकारी प्रशासनले कामबाट निष्कासन गरेको विरोधमा मुख्य गेटमा बसेर उनीहरू आन्दोलित भएका हुन् । मजदुर आन्दोलित भएपछि अहिले उद्योग सञ्चालक र मजदुर नेताकाबीच वार्ता भइरहेको छ ।
उद्योग प्रशासनले भने ५ वटा जीआई प्लान्टमध्ये २ वटा चलेको अवस्था रहुन्जेल सबैलाई काममा लगाइएकोमा एउटा प्लान्ट बन्द भएपछि केही दिनका लागि काममा नआउन भनेको उद्योग प्रशासनले जनाएको छ ।
आन्दोलित मजदुरहरूले १ सय ५० जनालाई एकै पटक कामबाट निष्कासन गरिएको आरोप लगाइरहेको अवस्थामा उद्योग प्रशासनले भने करिब ८६ जना निष्कासनमा परेको पुष्टि गरेको छ ।
उद्योगका म्यानेजर मुकेश कोठारीले उद्योग सिजनल भएका कारण अहिले उद्योगमा समस्या भएकाले मजदुरहरूलाई केही दिनका लागि काममा नआउन भनिएको बताए । त्यस्तो समस्या केही भएको होइन, मजदुर आन्दोलित हुनुको कारण त्यस्तो केही पनि नभएको उनको भनाइ छ ।