काठमाडौं । आर्थिक वर्ष २०७८/०७९ को पहिलो दिन आइतबार सेयर बजारले सकारात्मक छलाङ मारेको छ । आर्थिक वर्ष सुरु भएसँगै सूचीकृत कम्पनीहरुको वित्तीय विवरण सार्वजनिक हुने क्रम सुरु भएको र त्यसले सकारात्मक सन्देश दिएकाले बजारले नयाँ उचाइ लिएको हो ।
यद्यपि, नेपाल स्टक एक्सचेञ्ज (नेप्सै) परिसूचक आइतबारको विन्दू २०७८ जेठ ३१ को भन्दा तलै छ । जेठ ३१ मा नेप्से सूचक ३०२५ बिन्दूमा रहेर तल झरेको थियो । अघिल्लो साता २७८६ सम्म पुगेर फर्किएको बजार नयाँ उचाइ चुम्ने गरी अघि बढेको छ । आइतबार ९७.२१ अंकले बढेर २९८०.६१ बिन्दूमा पुगेको छ । सेयर सूचक बढ्दा झण्डै १०० अंक हाराहारी बढेको यो पहिलो पटक हो । यसअघि २०७८ वैशाख १४ गते ९२.४५ अंकको वृद्धि देखिएको थियो । त्यसैगरी, डिसेम्बर २० मा एकैदिन १२३ अंकले बजार घटेको थियो ।
त्यसैगरी, यसदिन कारोबार रकम पनि उचालिएको छ । आइतबार ११ अर्ब ६३ करोड ८१ लाख रुपैयाँ बरारबको २ करोड ८८ लाख ६३ हजार कित्ता सेयर किनबेच भएको थियो ।
पछिल्लो बजार घट्दा ४ अर्ब हाराहारीमा कायम रहेको कारोबार रकम आइतबार ११ अर्बभन्दा बढी पुगेको छ । गतसाता पनि कारोबार रकम सुस्त नै थियो । यद्यपि, बजार बढ्दोक्रममा लागेको थियो ।
खासगरी, राजनीतिमा देखिएका परिवर्तन, नयाँ अर्थमन्त्री जनार्दन शर्माको पुँजीबजार प्रति सार्वजनिक सकारात्मक अभिव्यक्ति, नयाँ आर्थिक वर्ष सुरु भएसँगै लाभांश दिने समय छोटिँदै जानु, कोभिड-१९ विरुद्धको खोप अभियानले तीब्रता पाइ व्यापार व्यवसायमा सकारात्मक प्रभाव पर्नु, मौद्रिक नीति सेयरबजारलाई प्रभाव पार्ने गरी नआउने संकेत देखिनुजस्ता कारणले सेयर सूचक उचालिन पुगेको हो ।
आइतबार नेप्सेमा वर्गीकृत १३ वटै समूह सूचकहरु सकारात्मक बनेपछि नेप्से सूचकले पूर्वउचाइलाई छुन खोजेको छ । यो साता नै नेप्से पूर्व उचाइलाई पार गरेर अघि बढ्ने अवस्था छ । सेयर लगानीकर्ताले सचेततापूर्वक कम्पनीहरुको वास्तविक स्थिति मूल्यांकन गरी लगानी गरेमा घाटा सहनुपर्ने छैन् । तर, आवेगमा लगानी गर्ने निर्णय गर्दा पछुताउनुपर्ने अवस्था आउन सक्छ ।
आइतबारदेखि भएको कारोबारमा पुँजीगत लाभकरमा वृद्धि भएको छ । गत वर्ष साउनयता सेयर खरिद गरी आइतबारबाट बिक्री सुरु भएकोमा ७.५ प्रतिशत लाभकर लाग्छ भने २०७७ असार मसान्तभन्दा अघिको सेयर बेच्दा ५ प्रतिशत मात्रै लाभकर लाग्छ ।
आइतबार ५ कम्पनीको सेयर मूल्य सर्किट लागेर कारोबार भएको छ । हिमालयन पावर पार्टनर, सिंगटी हाइड्रो, सिन्धू विकास बैंक, नलिङगाढ जलविद्युत् आयोजना, समृद्धि फाइनान्स छन् । त्यसपछि सिद्धार्थ बैंकको ८.५३ प्रतिशतले बढेको छ । आइतबार अधिकांश म्युचुअल फन्ड र ऋणपत्रको मूल्य घटेको छ । यसदिन सबैभन्दा बढी कारोबार हुनेमा मञ्जु श्री फाइनान्सको करिब ४१ करोड कारोबार छ ।
याे पनि पढ्नुहाेस्
नयाँ उचाइतर्फ सेयर बजार, साउनको पहिलो साताभित्र पुरानो रेकर्ड तोडिने सम्भावना