विराटनगर । उद्योग संगठन मोरङले पछिल्लो समयमा अघि सारेका नयाँ योजनामा प्रदेश १ सरकारले पनि साथ दिने भएको छ । उद्योग क्षेत्रमा युवाहरुको आकर्षण बढाउनुका साथै रोजगारी सिर्जना गर्नका लागि संगठनले ल्याएका कार्यक्रममा प्रदेश सरकारले सहकार्य गर्ने भएको हो ।
संगठनले आफुले अघि सारेका कार्यक्रमको बारेमा जानकारी दिन र प्रदेश सरकारसँग समन्वय गरेर कसरी काम गर्ने भन्ने विषयमा छलफल गरेको छ ।
छलफल कार्यक्रममा बोल्दै प्रदेश नं. १ की सामाजिक विकासमन्त्री उषाकला राईले प्रदेशको समग्र आर्थिक विकासलाई मध्यनजर गरी संगठनले अघि सारेको अवधारणामा मन्त्रालय सहकार्य गर्न तयार रहेको बताईन ।
मन्त्री राईले प्रदेशका युवाहरु वैदेशिक रोजगारीमा जाने क्रम बढिरहेकोले त्यस्ता युवाहरुलाई स्वदेश मै रोजगारी सिर्जना गर्नका लागि संगठनले सुरु गरेको कार्यक्रम महत्वपूर्ण हुने बताईन । स्वरोजगारीको माध्यमबाट आर्थिक विकासमा संलग्न गराउने वातावरण तयार गर्नु सरकार र नीजि क्षेत्रको दायित्व भएकाले मन्त्रालय संगठनसंग सहकार्य गरेर अघि बढ्न प्रतिवद्ध रहेको मन्त्री राईको तर्क छ ।
त्यसैगरी उद्योग, पर्यटन वन तथा वातावरण राज्यमन्त्री राजकुमार ओझाले सरकारले तीन खम्वे अर्थतन्त्रलाई महत्व दिएको अवस्थामा संगठनले सञ्चालन गर्न लागेका कार्यक्रम प्रदेशको पहिचानलाई स्थापित गर्न मद्त पुग्ने विश्वास व्यक्त गरे ।
मन्त्रालय सहकार्य गर्न तयार रहेको बताउँदै मन्त्री ओझाले बैदेशिक रोजगारीमा जाने युवाहरुको संख्या घटाउँदै लैजान कार्यक्रमले सहयोग पुर्याउने बताए । प्रदेशको विकासमा पनि यसले सहयोग गर्ने उनको भनाई छ ।
प्रदेश योजना आयोगका उपाध्यक्ष सुवोधराज प्याकुरेलले समग्र उद्यमशीलताको ईको सिस्टम विकास गर्न संगठनबाट प्रस्तुत रणनीतिक योजनाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।
यहीलेको युग स्र्टाटअपको युग भएकाले स्र्टाटअपको क्षेत्रमा युवा जनशक्तिलाई परिलक्षित गर्नुपर्ने धारणा व्यक्त गरे । उनले परम्परागत रुपमा गरिएका कामले लक्ष्य प्राप्त गर्न नसकिए बताउँदै सोचमा परिवर्तन गरी दिगो आर्थिक विकासको लक्ष्य सहित काम गर्न संगठनलाई सुझाव दिए ।
छलफलमा संगठनका अध्यक्ष सुयश प्याकुरेलले संगठनले प्रारम्भ गरेको स्टार्टअप एण्ड इनोभेशन कार्यक्रम, सीप विकास कार्यक्रम, ईन्टरप्राईजिङ ईस्ट र शिप विकास ईकाईको स्थापना जस्ता कार्यक्रमले प्रदेशकै गरिमा अभिवृद्धि गर्ने बताएका छन् ।
प्रदेशलार्ई लगानीमैत्री क्षेत्रका रुपमा विकास गर्ने भएकाले यस प्रकारका वहुआयामिक कार्यक्रमहरुमा प्रदेश सरकारलाई सहकार्य गर्न प्रदेश सरकारलाई अनुरोध गरेका छन । सरकार, नीजि क्षेत्रबीच समन्वय गरि सञ्चालन गरिने यस प्रकारको कार्यक्रमले प्रदेशको आर्थिक एवं औद्योगिक विकासका साथै उद्यमशिलता रुपान्तरण नया आयाम थपिने उनको तर्क छ । दीगो इकोसिष्टमविकास गर्न सहयोग पुर्याउने अध्यक्ष प्याकुरेलले बताए ।
त्यसैगरी उद्योग संगठन मोरङ, मोरंङ व्यापार संघले संयूक्त रुपमा संचालन गरेको मेरो देश, मेरै उत्पादनका साथै संगठन, संघ, प्रदेश सरकार र विराटनगर महानगरपालिकाको संयुक्त परियोजनाका रुपमा रहेको अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी केन्द्र निर्माणको प्रकृयालाई तिव्रता दिन प्रदेश सरकार समक्ष अध्यक्ष प्याकुरेलले अनुरोध गरेका छन् ।
पालिकाहरुसँग पनि छलफल
उद्योग संगठन मोरङले नवीनतम व्यवसायिक योजनालाई उद्यमशिलता रुपान्तरणमा सहयोग पुर्याउने उद्देश्यका साथ सामाजिक उत्तरदायित्व वहन गर्दै प्रारम्भ गरेको स्टार्टअप कार्यक्रमको बारेमा प्रदेश नं. १ का पालिकाहरुसँग पनि छलफल गरिरहेको छ ।
योजना अघि सारेसँगै संगठनले छलफललाई तीव्रता दिएर बढी भन्दा बढी युवाहरु माझ पुर्याउने लक्ष्य लिएको छ । संगठनले १५ भन्दा बढी पालिकाहरुको उपप्रमुख र प्रशासकीय अधिकृतहरुका साथ भर्चुअल वैठक सम्पन्न गरिसकेको जनाएकोछ ।
कार्यक्रममा सहभागि स्थानीय सरकारका उपप्रमुखहरुले दैनिकजसो संयौको संख्यामा रोजगारीको खोजीमा विदेशिने युवाहरुलाई स्वदेशमा नै नयाँ अवसरको विकास गर्न यस कार्यक्रमले मद्त पुर्याउने बताएका छन् । स्थानीय पालिकाहरुको तर्फबाट यस कार्यक्रममा अधिकतम युवाहरुको सहभागिताको सूनिश्चित गर्न पूर्णरुपमा सहयोग रहने उनीहरुले बताएका छन् । ।