नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लामा एक वर्षका अवधिमा २ हजार १ सय बढी घरेलु तथा साना उद्योग थपिएका छन् । नयाँ थपिएका उद्योगबाट ९ हजार बढीले रोजगारी पनि पाएका छन् ।
गत आव २०७७/०७८ मा २ हजार १ सय ६७ घरेलु तथा साना उद्योग दर्ता भएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख नेत्रप्रसाद भुसालले जानकारी दिए । यो अघिल्लो आवका तुलनामा दोब्बरले वृद्धि हो ।
अघिल्लो आव २०७६/०७७ मा जिल्लामा १ हजार १ सय २१ उद्योग दर्ता भएका थिए । गत वर्ष नयाँ थपिएकामा सबैभन्दा धेरै कृषि तथा वनजन्य उद्योग छन् ।
कार्यालयका अनुसार गत आव २०७७/०७८ मा १ हजार ५ सय ५७ कृषि तथा वनजन्य उद्योग दर्ता भएका छन् भने ४ सय ७० सेवामूलक तथा १ सय ४० उत्पादनमूलक उद्योग थपिएका छन् ।
लुम्बिनी प्रदेश सरकारले कोरोना महामारीका कारण बेरोजगार भएकालाई स्वदेशमै स्वरोजगारको वातावरण बनाउने उद्देश्यले उद्योग दर्ता निःशुल्क गरेकाले उद्योग दर्तामा वृद्धि भएको कार्यालयले जनाएको छ ।
यसैगरी महिलालाई पनि उद्यमतर्फ प्रोत्साहन तथा सहुलियतका कार्यक्रम ल्याइएकाले पनि महिला उद्यमीको सङ्ख्या बढ्दो रहेको कार्यालय प्रमुख भुसाल बताए।
गत वर्ष थपिएका उद्योगमा मात्रै १ हजार ३ सय ३ पुरुष र १ हजार ९३ महिला गरी २ हजार ३ सय ९६ जना उद्यमी छन् । थपिएका उद्योगमा मात्रै ५ अर्ब ६ करोड ६ हजार लगानी रहेको कार्यालयले जनाएको छ ।
उनका अनुसार नयाँ उद्योगबाट ९ हजार १ सय ३२ जनाले रोजगारी पाएका छन् । कृषि तथा वनजन्य उद्योगतर्फ ३ हजार ५ सय १५ पुरुष र २ हजार ७ सय ६ महिला गरी ६ हजार २ सय २१ जनाले रोजगारी पाएका छन् ।
कार्यालय प्रमुख भुसालका अनुसार सेवामूलक उद्योगतर्फ २ हजार ८४ ले रोजगारी पाएका छन् । यसमा १ हजार ३ सय ६२ पुरुष र ७ सय २२ महिला छन् ।
नयाँ थपिएका उत्पादनमूलक उद्योगतर्फ ५ सय ७२ पुरुष र २ सय ५५ महिला गरी ८२७ ले रोजगारी पाएका छन् । जिल्ला कृषिका लागि उर्वर मानिन्छ । यहाँका अधिकांश युवा र महिला उद्यमतर्फ आकर्षित भएको कार्यालयले जनाएको छ । रासस