विराटनगर । विद्युत आपूर्तिमा अनियमितता भएपछि उद्योग सञ्चालनमा समस्या आएको पूर्वका व्यवसायीहरुले बताएका छन् । मोरङ व्यापार संघले नेपाल विद्युत् प्राधिकरणको प्रदेश १ का प्रादेशिक कार्यालय र विराटनगर वितरण केन्द्रका प्रमुखसँग गरेको छलफलमा उद्योगीहरुले यस्तो बताएका हुन । बिजुलीमा ट्रिपिङ, न्यून गुणस्तर र अनियमित आपूर्तिका कारण उद्योग सञ्चालन गर्न समस्या भएको उनीहरुको गुनासो छ ।
मोरङको कटहरी गाउँपालिकासहित आसपासका क्षेत्रमा ३३ केभि लाइन जडान गरिएको भए पनि आपूर्ति अनियमित भइरहँदा उद्योग चलाउन गाह्रो परेको उनीहरुले बताएका छन् ।
मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले कटहरी खण्डको विद्युत् लाइन अनियमित र न्यून गुणस्तरको हुँदा अधिकांश उद्योग आफ्नो उत्पादन कटौती गर्न बाध्य भएको बताए ।
विद्युत ट्रिपिङ र भोल्टेजको अस्थिरताबाट उद्योगका विद्युतीय उपकरणमा क्षति पुगिरहेको बताउँदै उत्पादनको प्रक्रियामा रहेका र आवश्यक तापक्रम कायम गरी राखिएका कच्चा पदार्थ खराब भई खेर गइरहेको अध्यक्ष मुन्दडाले बताए ।
संघका पूर्व अध्यक्ष पवनकुमार शारडाले मोरङको कटहरी खण्डमा वर्षायाममा समेत विद्युत् आपूर्तिमा कमी हुने गरेको बताए । मर्मत सम्भारको काम सुस्त भएको र प्राधिकरणबाट पूर्व सूचनाबिना नै पटक–पटक विद्युत् लाइन कटौती भइरहेको आरोप उनको छ ।
विद्युत् आपूर्तिमा हुने गरेका समस्याका कारण समग्र करिडोरकै उत्पादकत्वमा ह्रास आई अर्बौंको निर्यात प्रभावित हुँदा राजस्वमा समेत असर परिरहेको उनले बताए ।
संघका महासचिव नवीन रिजालले विद्युत् महसुल र डिमान्ड शुल्कको दरमा लगातारको वृद्धिका कारणसमेत उद्योगको लागत खर्च बढेको बताए । खर्चको भार उपभोक्तालाई परिरहेको उनको भनाई छ ।
छलफलमा प्राधिकरणको प्रादेशिक कार्यालयका प्रमुख टेकनाथ तिवारी र विराटनगर वितरण केन्द्रका प्रमुख मिथिलेशकुमार गोहिवारले मोरङ–सुनसरी औद्योगिक क्षेत्रमा भइरहेको विद्युत् आपूर्तिलाई चालु आर्थिक वर्षमा गुणस्तरीय र प्रभावकारी बनाउने बताए ।
कटहरी क्षेत्रमा साना–ठूला गरी १०० उद्योग सञ्चालनमा छन् ।