हेटौंडा । घरेलु तथा साना उद्योग कार्यालय मकवानपुर हेटौंडाले जिल्लामा गत आर्थिक वर्ष २०७७/७८ मा २ हजार ५ सयवटा नयाँ उद्योग तथा व्यवसाय सञ्चालनका लागि अनुमति दिएको जनाएको छ ।
कार्यालयका अनुसार १ हजार ६ सय ९८ वटा नयाँ उद्योग तथा ८ सय २ वटा नयाँ वाणिज्य गरी कूल २ हजार ५ सय उद्योग तथा व्यवसाय सञ्चालनका लागि उक्त अवधिमा दर्ता भएको छ । साथै कार्यालयले गत आर्थिक वर्षमा उद्योग तथा व्यवसायको नयाँ तथा नवीकरण दर्ता लगायत व्यवसाय रजिष्टे«शन, प्रशासनिक सेवा शुल्क, दण्डजरिवाना र बेरुजु असुलीबाट ५ करोड ३ लाख ८ हजार ८ सय ६८ राजस्वसमेत सङ्कलन भएको बताइएको छ ।
प्राप्त विवरणअनुसार गत आर्थिक वर्षमा व्यवसाय रजिष्टेशनबाट ४ करोड ७२ लाख ५६ हजार ७ सय ४८ , प्रशासनिक सेवा शुल्कबाट २२ लाख ५० हजार ३ सय २० रूपैयाँ, दण्डजरीवानाबाट ८ लाख र बेरुजुबाट १८ हजार रूपैयाँ गरी जम्मा ५ करोड ३ लाख ८ हजार २५ हजार ६८ सङ्कलन भएको उल्लेख गरिएको छ ।
सरकारले अनुदान तथा व्यवसाय गर्नेलाई विभिन्न छुट सेवा दिनेदेखि बैंकिङ प्रयोजनमासमेत सहजता ल्याएपछि व्यवसाय दर्ता वृद्धि भएको र राजस्वमासमेत वृद्धि भएको कार्यालय प्रमुख जगन्नाथ दाहालले बताए ।
कोरोना महामारीका कारण गरिएको निषेधाज्ञाका कारण रु पाँच लाख पूँजीसम्मका व्यवसाय स्थानीय तहमा दर्ता हुने भए पनि अघिल्लो आर्थिक वर्ष २०७६÷७७ को तुलनामा गत आर्थिक वर्ष २०७७/७८ मा १२४ प्रतिशतले राजस्व वृद्धि भएको जनाइएको छ ।
कार्यालयले अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा २ करोड २४ लाख ८६ हजार ८ सय २० कुल विभिन्न शीर्षकबाट राजस्व सङ्कलन गरेको थियो । कार्यालयले गत आर्थिक वर्षमा उद्योगतर्फ नवीकरण ७८६ वटा, नामसारी १ सय १५ वटा, ठाउँसारी ४३ वटा, उद्योग थप गरी ५५ वटा लगत कट्टा १ सय १ वटा, पुँजी वृद्धि ३०० र प्रतिलिपी प्रदान ९५ जनालाई दिएको छ । रासस