काठमाडौं । उद्यमीहरुलाई प्रोत्साहित गर्ने उद्धेश्यले नेपाली युवा उद्यमी मञ्च काठमाडौं च्याप्टरले ‘नेपाली युवा उद्यमी मञ्च काठमाडौ स्टार्टअप अवार्ड’ आयोजना गर्ने भएको छ ।
यस वर्ष संस्थाले युवाहरुलाई व्यवसायिक क्षेत्रमा लाग्न प्रेरित गर्ने उदेश्यले उत्कृष्ट स्टार्टअप आइडियालाई पुरस्कृत गर्ने भएको हो ।संस्थाले यो कार्यक्रम मार्फत नयाँ उद्यमीहरुलाई आवश्यक पर्ने एक्पोजर, मेन्टोरसिप र लगानीको अवसर प्रदान गर्नेछ ।
यस अवार्ड कार्यक्रममा सहभागी हुन चाहने उद्यमीको लागि निश्चित मापदण्ड तोकिएको छ । सहभागी हुन चाहने स्टार्टअप कम्पनीहरु सरकारले तोकेको कार्यालयमा दर्ता भएको हुनुपर्नेछ ।
त्यस्तै स्टार्टअप स्थापना भएर ५ वर्ष नकटेको हुनु पर्नेछ । स्टार्टअपले प्रदान गरिएको अथवा गर्न चाहेको वस्तु उत्पादन अथवा सेवा तयारी अवस्थामा हुनुपर्नेछ ।
स्टार्टअपले आफ्नो सबै भन्दा नजिकको समयमा गरिएको अडिटेड वित्तिय विवरण (अडिट रिपोर्ट) बुझाउनु पर्नेछ । अडिटेड वित्तीय विवरण नभएको खण्डमा प्रोभिजनल वित्तिय विवरण बुझाउनु पर्नेछ ।
यि सबैं आवश्यक कागजपत्र पेश गरेपछि कार्यक्रम आयोजकले तोकेको समयमा उपस्थित हुने कम्पनीहरुमात्र अवार्डको लागि योग्य हुने मञ्चले जनाएको छ । मञ्चको सदस्यता लिएको उद्यमीले सञ्चालन गरेको कम्पनी भने सहभागी हुन पाउने छैन ।
यस प्रतिस्पर्धामा पहिलो र दोस्रो तथा पिपुल्स च्वाईस अवार्ड प्रदान गरिनेछ । उक्त स्टार्टअप अवार्डमा उत्कृष्टले क्रमशः १ लाख ५० हजार, ७५ हजार तथा ५० हजार रुपैयाँ नगद उपहार प्राप्त गर्नेछन । यस कार्यक्रमको मुख्य प्रायोजक सगरमाथा इन्स्सोरेन्स र सह प्रायोजक सिद्धार्थ बैंक रहेका छन् ।
सरकारले नेपालमा स्टार्टअप उद्यमी विकासको लागि १ अर्ब रुपैया बजेट विनियोजन गरेको छ । जसमा नयाँ स्टार्टअपहरुले परियोजनाको आधारमा २५ लाख रुपैयाँ बिना धितो पाउन सक्ने प्रावधान राखिएको छ ।
यस घोषणाले हाम्रा नेपाली उद्यमीहरु पुरा लाभान्वित हुने मञ्चको भनाई छ । सन् २०१६ मा नेपाली युवा उद्यमी मञ्च काठमाडौ च्याप्टरको स्थापना भयो । उद्यमीको विकास गर्ने लक्ष्य लिएको यस संस्थाले विभिन्न टकशो, मेन्टोरसिप विक, मास्टरक्लास र अरु विभिन्न सामाजिक कार्यहरु पनि गर्दै आएको छ ।