विराटनगर । उद्योग संगठन मोरङले ‘स्व.महेन्द्र गोल्छा औद्योगिक अध्ययन केन्द्र’ सञ्चालनमा ल्याउने भएको छ । पूर्वाञ्चल विश्वविद्यालयसँगको सहकार्यमा सञ्चालन गरिने औद्योगिक अध्ययन केन्द्रलाई मुलुककै आर्थिक एवं औद्योगिक क्षेत्रको नमुना सिकाई केन्द्रका रुपमा विकास गरिने लक्ष्य रहेको संगठनले जनाएको छ ।
बिहीबार विराटनगरमा एक कार्यक्रमको आयोजना गरी उद्योग संगठन मोरङले पूर्वाञ्चल विश्वविद्यालयसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।
उद्योग र विश्वविद्यालय बीचको सम्वन्धलाई अभिवृद्धि गरी आर्थिक विकासका विविध आयामहरुमा अध्ययन अनुसन्धानका विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने उद्देश्यले स्व.महेन्द्र गोल्छा औद्योगिक अध्ययन केन्द्र सञ्चालनमा ल्याएको संगठनका अध्यक्ष शुयोस प्याकुरेलले जानकारी दिए ।
हस्ताक्षर कार्यक्रममा उद्योग संगठन मोरङका अध्यक्ष प्याकुरेलले औद्योगिक क्षेत्रमा अध्ययन अनुसन्धानको माध्यमबाट आर्थिक एवं औद्योगिक क्षेत्रमा प्राज्ञिक विज्ञहरुको ज्ञानलाई आर्थिक विकासमा उपयोग गर्ने उद्देश्यका साथै विश्वविद्यालय र उद्योग बीचको प्राज्ञिक एवं व्यवसायिक सम्बन्ध स्थापित गरि अध्ययन अनुसन्धान एवं सिकाईको प्रकृयालाई अघि बढाउन केन्द्रले भूमिका निर्वाह गर्ने बताए ।
संगठनका पूर्वअध्यक्ष एवं वरिष्ठ उद्योगपति, समाजसेवी स्व गोल्छाको स्मृतीमा स्थापना गरिएको यस औद्योगिक अध्ययन केन्द्रले आर्थिक एवं औद्योगिक क्षेत्रमा प्राज्ञिक अध्ययन अनुसन्धान तथा नीति विश्लेषण गर्न विश्वविद्यालयका युवा अनुसन्धानकर्ताहरुलाई प्रेरित गर्ने विश्वास अध्यक्ष प्याकुरेलको छ ।
पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति डा.यादवराज कोईरालाले अनुसन्धानको माध्यमबाट उद्योगको समस्या पहिचान गरी नीति निर्माण तहमा सुझाव प्रस्तुत गर्न दुबै पक्षबीच भएको समझदारीले सहयोग पुर्याउने बताए । सुदृढ आर्थिक एवं सामाजिक विकासका लागि नया नवउद्यमशिलतालाई समानान्तर रुपमा प्रवद्र्धन गर्दै लैजानु पर्ने धारणा राख्दै उपकुलपति कोईरालाले उद्यमी र प्राज्ञिक वर्गलाई अपनत्व हुने गरी केन्द्रले कार्य गर्ने बताए ।
अध्ययन अनुसन्धान केन्द्रका संयोजक एवं पूर्वाञ्चल विश्वविद्यालयका डिन फयाकेल्टि अफ म्यानेजमेन्ट डा. बिजु थपलियाले केन्द्रले उद्योगको नीति निर्माण, नीतिगत वहस र पैरवी, उद्योगी र विश्वविद्यालय बीच अन्तरसम्वादको वातावरण तयार गर्न नयाँ आयाम थप्ने बताए ।
संगठनका वरिष्ठ उपाध्यक्ष्ाँ प्रदीप मुरारका, उपाध्यक्ष राजकुमार गोल्छा, नन्दकिशोर राठीले स्व. महेन्द्र गोल्छाको योगदानको चर्चा गर्दे केन्द्रले युवा शोधार्थीहरुलाई औद्योगिक क्षेत्रमा प्राज्ञिक अध्ययन अनुसन्धान गर्न प्रोत्साहित गर्ने बताउदै केन्द्रले विविध विषयका विज्ञहरुको उत्पादन एवं अनुसन्धानका लागी मानव श्रोतको उपलब्धता सहज बनाई औद्योगिक क्षेत्रको दायरा फराकिलो बनाउने विश्वास व्यक्त गरे ।
केन्द्रका सहसंयोजक एव संगठनका कार्यसमिति सदस्य ईन्द्र खत्री राजनले केन्द्रले आर्थिक क्षेत्र र अनुसन्धानको क्षेत्रलाई जोडदै युवा पिडिलाई आर्थिक विषयहरुमा अध्ययन अनुसन्धान गर्न प्रोत्साहित गर्ने जानकारी दिए ।
कार्यक्रममा केन्द्रको सदस्य एवं स्व. गोल्छाको छोरी युक्ति गोल्छाले आफना पिताको स्मृतीलाई दीर्घकालीन आर्थिक योगदान गर्न मद्दत गर्ने गरी गरिएको यस कार्यक्रमको सफलताको कामना गर्दै आफनो तर्फबाट पूर्णरुपमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरिन ।
स्व. महेन्द्र गोल्छा औद्योगिक अध्ययन केन्द्रको संयोजकमा प्राध्यापक डा. विजु थपलिया, सहसंयोजकमा ईन्द्र खत्री (राजन) सदस्यमा युक्ति गोल्छा, प्राध्यापक देवी भट्टराई, प्रशान्तकुमार लाल र सदस्य सचिवमा संगठनका महानिर्देशक चुडामणि भट्टराई रहेका छन ।