काठमाडौं। 'संयुक्त सरकारको साझा न्यूनतम कार्यक्रम'ले कोभिड – १९ को महामारी नियन्त्रण, औद्योगीकरण र उत्पादनमुखी अर्थतन्त्रमा जोड दिएको नेपाल उद्योग परिसंघले ठहर गरेको छ। परिसंघले अघि बढाएको 'मेक इन नेपाल स्वदेशी-अभियान'लाई विशेष टेवा दिने विश्वास लिएको छ।
सरकारको कार्यक्रममा स्वदेशी सामानको उत्पादन तथा उपभोग, आयात प्रतिस्थापन तथा निर्यात प्रवर्द्धनमूलक उद्योगमा जोड लगायत समेटिएको जनाउँदै परिसंघले यसले नेपाललाई औद्योगिकरणको बाटोमा लैजाने जनाएको छ।
यसैगरी आगामी असोजभित्र एक तिहाई नागरिकलाई खोपको व्यवस्था गर्ने, चैतसम्म खोप लगाउन योग्य सबै नागरिकलाई खोपको व्यवस्था गर्ने, कोभिड-१९ का कारण संकटग्रस्त उद्योग, पर्यटन व्यवसाय, सञ्चार, यातायात, पार्टी प्यालेस, ब्यायामशाला, मनोरञ्जनस्थल र बेरोजगारका लागि राहत प्याकेजको व्यवस्था गर्ने विषय सकारात्मक रहेको परिसंघले जनाएको छ।
खोप उत्पादनका लागि नेपालमै भ्याक्सिन ल्याब स्थापना गर्न पहल गर्ने विषय पनि सकारात्मक रहेको परिसंघले जनाएको छ।संसदमा विचाराधीन रहेका आर्थिक क्षेत्रसँग सम्बन्धित सबै विधेयक तीन महिनाभित्र पारित गर्ने घोषणा सकारात्मक रहेको परिसंघले जनाएको छ।
आन्तरिक लगानीबाटै मझौला तथा ठूला जलविद्युत आयोजना निर्माण गर्ने विद्युत खपतका लागि उद्योगधन्दा, कलकारखाना, यातायातको विकास गर्ने घोषणाले देशभित्र नै विद्युत खपतको वातावरण तयार गर्ने परिसंघको विश्वास छ।