काठमाडौं । हाइटेक मोबाइल्स प्रालि र माउन्ट एभरेष्ट ट्रेडर्सको कर छली धन्दा दिनदिनै फस्टाउँदै गएको छ । खासगरी, विदेशबाट ल्याउने स्मार्टवाचहरु ९० भन्दा बढी कर छलेर ल्याउने गरेको पाइएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका कर्मचारीसँग सेटिङ गरेर ब्रान्डेड स्मार्टवाच न्यूनबिजीकरण गरेर भित्र्याइरहेका छन् । दुई कम्पनीका सञ्चालकहरुले भन्सार कार्यालयले खटाएको जाँचकीसँग मिलेर न्यून मूल्यांकनमा स्मार्टवाच भित्र्याएको देखिन्छ ।
नेपालमा पछिल्लो समय स्मार्टवाचको माग बढ्दै गइरहेको र यही मौकामा अकुत पैसा कमाउन सकिन्छ भन्ने उद्देश्यबाट कम्पनीका सञ्चालकले १ सय डलरभन्दा बढी मूल्य पर्ने स्मार्टवाच २ देखि ४ डलर मूल्यांकनमा भन्सारबाट पास गरिरहेका छन् ।आयातकर्ताले भन्सारका कर्मचारीसँग साँठगाँठ गरेर न्यून मूल्यांकनमा भन्सार पास गराएको देखिन्छ ।
अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीले न्यून भन्सार मूल्याकनमा स्मार्टवाच भित्रिएको आफूले जानकारी पाएको र त्यसका बारेमा अध्ययन गरिरहेको बताए । ‘आफू भरखरै अर्थमा आएको छु, वास्तविकता बुझ्दै छु’ उनले भने, ‘म एयरपोर्टका हाम्रा कर्मचारीसँग पनि यस बारे सोधपूछ गर्छु ।’
एयरपोर्ट भन्सार प्रमुख लक्ष्मी निरौलाले न्यूनविजीकरण भएर एयरपोर्टबाट भित्रिएको आफूलाई कुनै जानकारी नभएको बताए । ‘त्यसरी भित्रिन्छ जस्तो लाग्दैन्,’ उनले भने, ‘तैपनि म बुझ्छु ।’
स्मार्टवाचको आयातको तथ्यांक हेर्ने र कुन ब्रान्डको स्मार्टवाच कतिमा भित्रिएको छ, त्यसको अध्ययन गरेर जानकारी गराउने उनले बताए । ‘आयाताकर्ताले कर्मचारीसँग सेटिङ गरेर यसरी स्मार्टवाच नभित्र्याएको उनको दाबी छ ।
जाँचकीले कुन सामान भित्रिएको छ ? कति मूल्य बराबरको सामान हो भन्ने हेर्दैनन् भन्ने क्यापिटलको प्रश्नमा आपूmले थप बुझेपछि मात्रै भन्न सक्ने बताए ।
हाइटेक मोबाइल्सले न्यूनबिजीकरण गरेर सबैभन्दा बढी स्मार्टवाच भित्र्याएको छ । यसले ब्रान्डेड स्मार्टवाच भित्र्याएको भन्सारको तथ्यांकबाट देखिन्छ । त्यही ब्रान्डको र त्यही मोडलको स्मार्टवाच अरु कम्पनीले १२० डलरसम्म भन्सार मूल्यांकन गरेको तथ्यांकबाट देखिन्छ । तर, हाइटेक र माउन्ट एभरेष्टले भित्र्याएको उही मोडल र ब्रान्डको स्मार्टवाचको मूल्यांकन ९० प्रतिशत भन्दा कम छ ।
भन्सारबाट उपलब्ध तथ्यांक अनुसार माउन्ट एभरेष्टले दुई महिनामा २ हजार ३३० थाल ब्रान्डेड स्मार्टवाच भित्र्याएको छ । तर, उसले जम्मा ९ लाख रुपैयाँ मात्रै राजस्व बुझाएको छ । त्यसैगरी, हाइटेकले ८३० थान स्मार्टवाच भित्र्याएको छ । उनले जम्मा ९३ हजार ३३८ रुपैयाँ राजस्व बुझाएको छ ।
त्यसैगरी, आइहव प्रालिले ८०० थान स्मार्टवाच भित्र्याएको छ । उसले १२ लाख ८० हजार रुपैयाँ राजस्व बुझाएको छ । तीनवटै कम्पनीले एउटै ब्रान्ड र मोडलका स्मार्टवाच भित्र्याएका छन् । तर, उनीहरुले तिर्ने राजस्वमा ठूलो अन्तर देखिएको भन्सार कार्यालयले उपलब्ध गराएको तथ्यांकमा देखिएको छ ।
भन्सार कार्यालय प्रमुख निरौलाले यस विषयलाई गम्भीर रुपमा लिएर आवश्यक प्रक्रिया अघि बढाउने बताए । स्मार्टवाच आयात गर्दा २० प्रतिशत भन्सार र १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लाग्छ । वास्तविक भन्दा कम मूल्य देखाएर सामान छिराउँदा सरकारले पाउने भन्सार तथा भ्याट पनि कम हुने गर्छ ।
भन्सारका जाँचकीसँग मिलेर व्यापारीले यस्तो गरेको देखिएको हो । नेपालमा जबदेखि स्मार्टवाचको माग बढ्दै गयो, त्यो बेलादेखि गैरकानुनी रुपमा स्मार्टवाच भित्र्याउने कार्य भएको हो ।
यो पनि हेर्नुहोस
९० प्रतिशतसम्म भन्सार छलेर भित्र्याइन्छ स्मार्टवाच, भन्सारकै अधिकारीको मिलेमतो रहेको खुलासा