काठमाडौं । नेपाल समुद्रपार निकासी पैठारी संघको प्रतिनिधिमण्डलले अर्थसचिव मधुकुमार मरासिनीलाई व्यावसायमैत्री वातावरण निर्माणका लागि गर्नुपर्ने सुधारसम्बन्धी सुझाव दिएको छ । संघका अध्यक्ष सुनीलकुमार वंशल नेतृत्वको प्रतिनिधिमण्डलले आयकर, मूल्य अभिवृद्धिकर, अन्तःशुल्क, भन्सार, आयात–निर्यात व्यापार क्षेत्रका समस्या र तिनका समाधानका उपाय समेटिएको सुझाव अर्थ सचिव मरासिनीलाई दिएको हो ।
भेटका अवसरमा प्रतिनिधिमण्डलले साना तथा मझौला निकासीकर्ताले पाउनुपर्ने निर्यात अनुदान लामो समयदेखि नपाएकोले यथाशीघ्र भुक्तानी गर्नुपर्ने, सन् २०२६ मा नेपाल विकासशील मुलुकमा स्तरोन्नति भएपछि अल्पविकसित मुलुकले पाउने सुविधाबाट वञ्चित हुने हुँदा विभिन्न मुलुकसँग द्विपक्षीय सम्झौता गरी निर्यातका लागि बजार सुनिश्चित गर्नुपर्ने, ट्रेडिङ हाउसलाई पनि ५ वर्षका लागि एक्जिम कोड नवीकरण गर्ने सुविधा दिनुपर्ने लगायत सुझाव दिएको छ ।
त्यस्तै मिति सकिएका र ड्यामेज भएका वस्तु नष्ट गरको अनुगमन गरी प्रमाणित गर्ने निकाय हुनुपर्ने माग पनि अर्थसचिव मरासिनी समक्ष राखेको छ । साथै उन आयातमा रहेको सिन्डिकेट हटाउन पनि प्रतिनिधिमण्डलले माग गरेको छ ।
अर्थसचिव मरासिनीले संघको सुझाव ग्रहण गर्दै संघले उठाएका मुद्दाहरुलाई आफूले गम्भीर रुपमा लिने बताउका छन् । कोभिडका कारण आर्थिक गतिविधि प्रभावित नहोस् भनेर खोप खरिदलाई उच्च प्राथमिकता दिएको पनि अर्थ सचिवको भनाइ छ ।
प्रतिनिधिमण्डलमा अध्यक्ष वंशललगायत उपाध्यक्ष विनोदकुमार सेठिया, महासचिव मदन मित्तल, कोषाध्यक्ष कुमार कार्की र संघको कर समिति सभापति विष्णु जोशीको सहभागी थियो ।