गाेदाबरी । पछिल्लो समयमा सुदूरपश्चिम प्रदेशमा उद्योग दर्ता हुनेक्रम बढ्दो छ । लगानीमैत्री वातावरण भएका कारण पछिल्लो समय यो प्रदेशमा उद्योग दर्ता हुने क्रम बढेको हो ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रायलयका अनुसार हालसम्म प्रदेशभरि ३६ हजार १ सय ४५ उद्योग दर्ता भएका छन् । तीमध्ये सबैभन्दा बढी सेवामूलक उद्योग छन् । हालसम्म सुदूरपश्चिम प्रदेशमा ११ हजार २ सय २६ वटा सेवामूलक उद्योग दर्ता भएका छन् ।
यसैगरी कृषि र वनमा आधारित उद्योगको सङ्ख्या ८ हजार ६ सय ७२, ऊर्जामूलक ६ हजार ३ सय ८५, उत्पादनमूलक ५ हजार ६ सय १३, पर्यटनका ४ हजार १८ र निर्माणसम्बन्धी २ सय ३१ उद्योग दर्ता भएको मन्त्रालयका सूचना अधिकारी भरत श्रेष्ठले जानकारी दिए।
कोरोना महामारीका कारण धेरै व्यक्तिहरु स्वदेश फर्केर लघु उद्यमतिर लागेर स्वरोजगार बन्दै आएका छन् । कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण स्वदेश फर्किनेहरू देशभित्रै उद्यमशीलता गर्नुपर्छ भन्ने भावनाको विकास हुँदा उद्योग दर्ता हुने क्रम बढेको मन्त्रालयका सूचना अधिकारी श्रेष्ठको भनाइ छ ।
सुदूरपश्चिम प्रदेशमा लघु उद्यमीको सङ्ख्या २२ हजार ५ सय ७९ रहेको तथा तीमध्ये सक्रिय लघुउद्यमीको सङ्ख्या १७ हजार ६८ र निष्क्रियको सङ्ख्या ५ हजार ५ सय ११ रहेको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।
पछिल्लो समयमा रोजगारीका लागि विदेश गएर घर फर्किएका युवा होटल तथा रेस्टुराँ, पर्यटन उद्योग, धातुजन्य उद्योग, कृषि तथा पशु फार्म, निर्माणजस्ता साना तथा घरेलु उद्योगमा लगानी गर्दै आएका छन् । महिलाका नाममा दर्ता हुने प्राइभेट फार्मसम्बन्धी उद्योग दर्तामा छुट दिइने र बैंक ब्याजमा समेत सहुलियत दिइने सरकारको नीति रहेकाले महिलाका नाममा बढी उद्योग दर्ता हुने गरेको पाइएको मन्त्रायलयले जनाएको छ ।