काठमाडौं । चिनियाँ लगानीमा निर्माण भइरहेको हुवासिन सिमेन्टले दसैं र तिहारको बीचमा उत्पादन थाल्ने भएको छ । नेपाल विद्युत प्राधिकरणले प्रसारण लाइनको काम तत्कालै सम्पन्न गराए दसैं अघिनै परीक्षण उत्पादन थाल्ने योजना रहेको उद्योगका आन्तरिक मामिला तथा आयोजना विकास प्रबन्धक डिल्लीराज पोखरेलले जानकारी दिए ।
परीक्षणपछि नियमित उत्पादनका लागि कम्तिमा दुई महिना लाग्ने उनको भनाई छ । ‘हामी दसैं अघिनै उत्पादन थाल्ने गरि तयारी गरिरहेका छौं, प्रबन्धक पोखरेलले भने, प्राधिकरणले ढिलाई गरे तिहारअघि सुरु गरिसक्छौं ’ । उद्योगको काम अन्तिम चरणमा पुगे पनि प्रसारण लाइनको परीक्षण गर्न बाकी रहेको उनले सुनाए ।
उद्योगको तर्फबाट गर्ने सम्पूर्ण कामहरु अन्तिम चरणमा पुगिसकेको बताउदै उनले अव सरकारको तर्फबाट गर्ने काम मात्र बाकी रहेको जानकारी दिए । सञ्चालनमा आएपछि उद्योगले दैनिक ६० हजार बोरा सिमेन्ट उत्पादन गर्ने छ ।
उद्योगका लागि सिद्धलेकको परेवाटारमा सबस्टेसन निर्माण अलपत्र छ । उक्त लाइनबाट उद्योगलाई आवश्यक २५ मेगावाट विद्युत ल्याइनेछ । हुवासिनको धादिङ प्लान्टले एक वर्षमा करिब १ अर्ब रुपैयाँभन्दा बढीको विद्युत खपत गर्ने अनुमान छ ।
साढे १४ अर्ब रुपैयाँ लगानीमा निर्माण भइरहेको उद्योग धादिङको पानीखर्क क्षेत्रमा ५०० रोपनी जग्गामा फैलिएको छ । उद्योगले पंहुच सडक आफैले बनाएको हो । उद्योगको नेपाली साझेदार नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष सुरज वैद्य हुन।
यससँगै हुवासिनले खानी उत्खननको काम पनि अघि बढाउने तयारी थालेको छ । सरकारले चासो नदिएकै कारण थप ८० करोड रुपैयाँ खर्चेर १४ किलोमिटर लामो प्रसारण लाइनसमेत आफैले बनाएको हो ।
उद्योगमा चिनियाँ र नेपाली कामदारहरुले काम गरिरहेका छन् । विभिन्न समयमा आउने बाढी र कोभिडले उद्योगको काम प्रभावित हुँदै आएको छ ।
त्यति मात्र हैन, ०७६ जेठ ३१ मा हुवासिनको निर्माणाधीन प्लान्टमा मलेखु खोलाको बाढी पस्दा उद्योगले करिब १ अर्ब रुपैयाँ बराबरको क्षति बेहोर्नुपरेको थियो । विभिन्न समयमा आएको समस्यालाई हल गर्दै उद्योगले आफ्नो उत्पादनलाई अगाडी बढाउन तिब्र तयारी थालेको जनाएको छ ।