काठमाडौं । नेपालमा प्रत्यक्ष विदेशी लगानी अभिवृद्धिका लागि वेलायती राजदूतावासले सहयोग गर्ने भएको छ । नेपाल लगानीका लागि उपयुक्त वातावरण भएको भन्दै नेपालस्थित राजदूतावासले विदेशी लगानी बढाउन सहयोग गर्ने बताएको हो ।
नेपाल उद्योग परिसंघसँगका पदाधिकारीसँगको छलफलमा नेपालस्थित वेलायती राजदूत निकोला पिलोटले नेपालमा व्यावसायिक वातावरण सुधार गरी विदेशी लगानी आकर्षित गर्न सकिने भन्दै वेलायती लगानीकर्ता नेपाल भित्र्याउन आफूले पहल गर्ने बताइन । ‘नेपालको विकासमा प्रत्यक्ष विदेशी लगानीले महत्वपूर्ण भूमिका खेल्न सक्छ,’ उनले भनिन् ।
राजदूत पिलोटले आउँदा दिन वातावरणीय परिवर्तनका दृष्टिकोणले चुनौतिपूर्ण हुने बताइन । उनले जलवायु परिवर्तनको प्रभाव न्यूनीकरणका लागि निजी क्षेत्रले काम गर्न सक्ने पनि उल्लेख गरिन ।
भेटका क्रममा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपालमा एकातर्फ बेरोजगारीको समस्या रहेको र अर्कोतर्फ सीपयुक्त जनशक्तिको अभाव रहेको बताउँदै सीपयुक्त जनशक्ति विकास आजको आवश्यकता रहेको स्पष्टपारे । उनले सीप विकासमा वेलायती सहयोग कार्यक्रमहरू र परिसंघले सहकार्य गर्न सक्ने उल्लेख गरे
नेपालको कूल गार्हस्थ उत्पादनमा उद्योग क्षेत्रको योगदान कमजोर रहेको विद्यमान परिस्थितिमा परिसंघले मेक इन नेपाल स्वदेशी अभियान सुरुवात गरेको अध्यक्ष अग्रवालले जानकारी गराए । उनले औद्योगिक विकास, निर्यात प्रवद्र्धन, रोजगारी सिर्जना र स्वदेशी वस्तुको उपभोग अभिवृद्धि मुख्य लक्ष्य राखेर अघियान अघि बढाइएको उल्लेख गरे ।
अध्यक्ष अग्रवालले परिसंघले स्टार्ट अप प्रवद्र्धनका लागि सरकारसँग निरन्तर संवाद गरिरहेको भन्दै साना व्यवसायलाई अर्थतन्त्रको मूल प्रवाहमा ल्याउने गरी काम गर्नुपर्नेमा जोड दिए ।कार्यक्रममा परिसंघका निवर्तमान अध्यक्ष सतिशकुमार मोरले नेपालमा लगानीको प्रसस्त संभावना रहेको बताए ।
यसैगरी परिसंघका उपाध्यक्ष निर्वाण चौधरीले परिसंघले अर्थतन्त्रका विकासका लागि विभिन्न क्षेत्रलाई अघि बढाएको जानकारी गराए । यसैगरी परिसंघका उपाध्यक्ष राजबहादुर शाहले कोभिडले थला परेको नेपालको पर्यटन प्रवद्र्धनका लागि दूतावासले सहयोग गर्न सक्ने उल्लेख गरे । भेटमा परिसंघका महानिर्देशक यादवप्रसाद पौड्याल र निर्देशक सविन मिश्रको उपस्थिति थियो ।