काठमाडौं । पटक पटक काम सम्पन्न गर्न दिएको निर्देशन बेवास्ता गरेको भन्दै हुलाकी राजमार्ग योजना कार्यालय, कपिलवस्तुले निर्माण व्यवसायी पप्पु/बाम्ती जेभी कन्ट्रक्सनलाई ठेक्का तोड्ने चेतावनी दिएको छ ।
भैरहवा–लुम्बिनी सडकअन्तर्गतको तिनाउ खोला र डोण्डो खेलामा पुल निर्माण गरिनुपर्ने सम्झौता भए पनि पप्पु/बाम्ती जेभीबाट तोकिएको समयमा काम सम्पन्न गर्ने कुनै आधार नदेखिएको भन्दै आयोजनाले ठेक्का तोड्ने चेतावनी दिएको हो ।
आयोजनाले गत असार ३ गते सो निर्माण कम्पनीलाई उक्त पुल निर्माणमा किन ढिलाइ भएको हो भन्दै स्पष्टीकरण सोधेको थियो । आयोजनाले के कति कारणबाट सो पुल निर्माण सम्पन्न हुन नसकेको हो खुलाई कार्य सम्पन्न गर्न सक्ने संशोधित कार्यतालिका र भरपर्दो योजना तथा कार्यसम्पन्न गर्ने प्रतिबद्धता सहित १५ दिनभित्र उपस्थित हुन निर्देशन दिएको थियो ।
आयोजनाको निर्देशन लत्याउँदै पप्पु/बाम्ती जेभी कन्ट्रक्सन सम्पर्कविहीन भएको थियो । सो निर्माण कम्पनीबाट आयोजना सम्पन्न हुने कुनै आधार नदेखिएको भन्दै आयोजनाले सार्वजनिक खरिद ऐन, २०६३ तथा नियमावली २०६४ र ठेक्का सम्झौतामा भएको प्रावधानबमोजिम ठेक्क सम्झौता किन नतोड्ने ? भन्दै स्पटीकण सोधेको छ ।
आयोजनाले ठेक्का तोड्नु नपर्ने कुनै मनासिब कारण भए सात दिनभित्र सूचकसहितको संशोधति कार्यतालिका, सोहीसँग मेल खाने भरपर्दो स्रोत परिचालन योजनासहित कार्यालयमा उपस्थित हुन पनि निर्देशन दिएको छ ।
तोकिएको समयावधिभित्र मनासिब कारणसहित स्पष्टीकरणका साथ स्वीकारयोग्य कार्ययोजना पेश नगरिए ठेक्का सम्झौता रद्द गरी कारबाही प्रक्रिया अगाडि बढाइने आयोजनाले जनाएको छ ।
पछिल्लो समय पप्पु कन्ट्रक्सनले ठेक्का लिएको निर्माण अलपत्र हुन थालेपछि सम्बन्धित आयोजनाले गम्भीर चासो व्यक्त गर्दै तोकिएको समयमै निर्माण सम्पन्न गर्न दबाब दिँदै आएका छन् ।