काठमाडौं । एभरेष्ट सुगर एण्ड केमिकल इन्डिष्ट्रीजबाट उत्पादन हुने बिजुली राष्ट्रिय प्रसारणमा जोड्नका लागि ३३ केभी क्षमताको प्रसारण लाइन निर्माणको प्रक्रिया थालिएको छ ।
उखुको खेस्टाबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारणमा जोड्न प्रसारण लाइन निर्माणको तयारी गरिएको हो । एभरेष्ट सुगरले प्रसारण लाइन निर्माण तथा सञ्चालनका क्रममा आयोजना क्षेत्रमा कुनै असर पर्ने भएमा राय सुझाव दिन आग्रह गरेको छ ।
आयोजना निर्माण तथा सञ्चालन गर्दा प्रतिकूल असर पर्ने भएमा सात दिनभित्र विद्युत् विकास विभाग र उद्योगको मूख्य कार्यालयमा सुझाव दिन आग्रह गरिएको हो ।
सो उद्योगले उखुको खोस्टाबाट ३ मेगागट बिजुली उत्पादन गर्ने तयारी गरेको छ । यसबाट वार्षिक सरदर एक हजार ६५६ मेगावाट घन्टा विद्युत् उत्पादन हुने छ । उत्पादित बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जडान हुनेछ ।
चिनी उद्योगबाट उत्पादित ३ मेगावट बिजुली उद्योग परिसरमा रहने विद्युत् गृहदेखि नेपाल विद्युत् प्राधिकरणको औरही सवस्टेशनमा जोडी राष्ट्रिय प्रणालीमा समाहित गरिनेछ ।
आयोजनाको प्रसारण लाइनअन्तर्गत ११ मिटर उचाइका २६४ वटा खम्बा जडान गरिने एभरेष्ट सुगरले जनाएको छ । विद्युत् प्रसारण लाइन निर्माण तथा सञ्चालन गर्दा प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन (आईईई) अनुसार भूक्षय, बाढी, वायुप्रदूषणलगायत वातावरणीमा कुनै असर नपर्ने गरी निर्माण गरिने कम्पनीले जनाएको छ ।
चिनी उद्योगबाट विद्युत्को सहउत्पादन प्रवद्र्धन गर्ने सन्दर्भमा विद्युत् विकास विभाग र एभरेष्ट सुगर एण्ड केमिकल इन्डिष्ट्रीजबीच सम्झौता भइसकेको छ ।