काठमाडौं । उद्योग संगठन मोरङले नेपाल व्यापार एकीकरण रणनीति २०१६ को आगामी संशोधनमा समावेश गर्नुपर्ने विषयवस्तुका सम्बन्धमा सुझाव दिएको छ ।
अन्तर्राष्ट्रिय बजारमा स्वदेशी वस्तुको बजार प्रवर्द्धन निर्यात अभिवृद्धिको माध्यमबाट बढ्दो व्यापार घाटा न्यूनीकरण गर्न सरकारले नेपाल व्यापार एकीकरण रणनीति ल्याएको थियो ।
बिहीबार भएको अन्तरक्रियामार्फत संगठनका अध्यक्ष सुयश प्याकुरेलले २०१६ को रणनीति योजनामा देखिएका कमीकमजोरीहरुको सुधार गरी आगामी नीति तय गर्नुपर्ने बताएका छन् ।
उनले विश्व बजारमा मौलिक चिनारी बोकेका नेपाली वस्तुको माग भए तापनि निर्यातमा देखिएको प्रक्रियागत जटिलता, बढदो उत्पादन लागत तथा लजिस्टिक खर्च, ढुवानीको समस्याका साथै कूटनीतिक पहलको अभाव जस्ता कारणले आशा गरिएअनुसार निर्यात हुन नसकेको बताए ।
साथै निर्यात प्रवद्र्धनमा देखिएका जटिलतालाई सम्बोधन गर्ने गरी आगामी रणनीति आउनुपर्ने अध्यक्ष प्याकुरेलको भनाइ छ ।
कार्यक्रममा पूर्वअर्थ सचिव एवं संगठनका विशिष्ठ सल्लाहकार रामेश्वर खनालले नेपाल व्यापार एकीकरण रणनीति २०१६ सम्बन्धमा कार्यपत्र प्रस्तुत गर्दै वैदेशिक व्यापार अभिवृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने सबैक्षेत्रलाई समावेश गरी ईकोसिस्टको विकास गर्नुपर्ने बताए ।
उनले आर्थिक विकासको मेरुदण्डका रुपमा रहेका आन्तरिक उद्योगहरुको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गरी निर्यातलाई बढावा दिन सरकार, निजी क्षेत्रबीच सहकार्य हुनु पर्ने उल्लेख गरेका छन् ।
त्यस्तै राज्यले उद्योग व्यवसायहरुको विकासका लागि सहज र सरल नीति निर्माण गरी सहजीकरण गर्न आवश्यक व्यवस्था सहितको व्यापार रणनीति तय गर्न प्राप्त सुझावहरु महत्वपूर्ण रहेको उनको भनाइ छ ।
नेपाल–भारत उद्योग वाणिज्य संघका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अविनाश बोहराले निर्यात व्यापारको महत्वपूर्ण पक्षका रुपमा रहेको सिपिङ कम्पनी नहुनु, डिटेन्सनका नाममा अतिरिक्त खर्चको व्ययभार उद्योगले व्यहोर्नुपर्ने, अन्तर्राष्ट्रिय स्तरको मान्यता प्राप्त ल्याब नहुनु जस्ता कारणले पनि निर्यात व्यापार अभिवृद्धि हुन जनाएका छन् । निर्यात अभिवृद्धिका लागि नीति निर्माणका साथैै पूर्वाधार विकासमा सरकारले ध्यान दिनुपर्ने उनको धारणा छ ।