काठमाडौं । नेपाल राष्ट्र बैंकले ब्याजदर नबढाउन सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरु दिएको निर्देशन देखावटी मात्रै रहेको पाइएको छ ।
बजारमा बैंकहरुले ब्याजदर बढाउँदा पनि हस्तक्षेप गर्न नसकेको आरोप लागेपछि राष्ट्र बैंकले बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हरुलाई बोलाएर ब्याजदर नबढाउन भनेको थियो ।
केन्द्रीय बैंकको निर्देशनपछि पनि बैंकहरुले महँगोमा निक्षेप संकलन गर्नुले नियामकको निर्देशन देखावटी मात्रै भएको पाइएको छ । सबै बैंकहरुले धमाधम निक्षेपको ब्याजदर बढाएपछि राष्ट्र बैंकको आलोचना भएको थियो । त्यो आलोचनालाई मत्थर पार्न सीईओहरुलाई ब्याज नबढाउन केन्द्रीय बैंकले भन्यो र साउनदेखि असोजसम्मको वर्कसिट पनि माग्यो । त्यो केन्द्रीय बैंकले औपचारिकताका लागि मात्रै गरेको बैंकहरुका गतिविधिबाट पुष्टि भएको छ ।
बैंकहरुले नेपाल विद्युत् प्राधिकरणको निक्षेप तान्न नेपाल बैंकर्स एसोसिएसन (एनबीए) का अध्यक्ष भुवन दाहाल सीईओ रहेको सानिमा बैंकदेखि अन्य बैंकहरु ब्याज बढाबढमा लागेका छन् ।
उनीहरु कसैले पनि केन्द्रीय बैंकको निर्देशनलाई मानेका छैनन् । ‘निर्देशनलाई अवज्ञा गर्नु भनेको बैंकहरु केन्द्रीय बैंकको कन्ट्रोलमा छैनन् भन्ने बुझिन्छ कित बजारमा भइरहेको आलोचनालाई मत्थर बनाउन गरिएको नाटक मात्रै हो,’राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्री भन्छन्, ‘बैंकहरुले केन्द्रीय बैंकको निर्देशन परिपालना नगर्नु भनेको नियामकलाई नटेर्नु हो । यसरी नटेर्नुका पछाडि धेरै रहस्य हुन सक्छन् ।’
प्राधिकरणको निक्षेप लिन सबैभन्दा बढी सनराइज बैंकले ९.७७ प्रतिशत ब्याज दिएर ५० करोड निक्षेप लिएको छ । त्यसपछि दोस्रो धेरै ब्याज दिएर सानिमा बैंकले १ अर्ब रुपैयाँ लगेको छ । सानिमाले ९.५१ प्रतिशत ब्याज दिएको छ ।
कृषि विकास बैंकले ८.२५, बैंक अफ काठमाडूले ८.७७, सेन्चुरीले ८.५, सिटिजन्सले ८, सिभिलले ८.३, एभरेष्टले ८.६१, ग्लोबल आइएमईले ९.५, हिमालयनले ९.१५, कुमारीले ८.१५, लक्ष्मीले ९, माछापुच्छ्रेले ८.७५, मेगाले ८.७५, नबिलले ८.५१, नेपाल क्रेडिट एन्ड कमर्सले ९.२६ ब्याजमा निक्षेप उठाएका छन् ।
यसैगरी नेपाल इन्भेष्टमेन्टले ९.२, नेपाल एसबीआईले ७.५५, एनआईसी एसियाले ८.६, एनएमबीले ९, प्रभुले ८, प्राइम कमर्सियलले ९.५, राष्ट्रिय वाणिज्यले ८.६, सानीमाले ९.५१, सिद्धार्थले ९.५, र सनसाइजले ९.७७ प्रतिशत ब्याजमा निक्षेप उठाउन होडबाजी गरेका छन् ।
प्राधिकरणले ६ महिनाका लागि २७ वटै वाणिज्य बैंकलाई निक्षेप दिएको छ । केन्द्रीय बैंकको निर्देशन अवज्ञा गर्ने १३ वटा बैंकले निक्षेप लिँदा महँगो ब्याज दिएका छन् । जबकि, उनीहरु अहिले पनि केन्द्रीय बैंकको अनुसन्धानको घेरमा छन् । तैपनि उनीहरुले केन्द्रीय बैंकको निर्देशनलाई लत्याएर चर्को ब्याज दिएर ५ महिनाका लागि निक्षेप लिइरहेका छन् ।