काठमाडौं । दक्षिण एसियाका लागि विश्व बैंकका उपाध्यक्ष हार्टविग सेफरको पाँच दिने नेपाल भ्रमण सम्पन्न भएको छ । कोभिड–१९ महामारीबाट उत्थानशील पुनर्लाभ प्राप्त गर्नका लागि नेपाललाई सघाउने प्रतिबद्धता दोहोर्याउँदै सोमबार सेफर नेपालबाट बिदा भएका छन् ।
पाँचदिने भ्रमण अवधिमा सेफरले प्रधानमन्त्री शेरबहादुर देउवा तथा अर्थमन्त्री जनार्दन शर्मासँग अलग–अलग भेट गर्दै नेपालमा कोभिड–१९ खोपको तीव्र विस्तार तथा आर्थिक पुनरूत्थानमा जोडसहितको कोभिड प्रतिकार्यको सराहना गरेका छन् ।
‘२०७२ सालको भूकम्प लगायतका विविध आघातहरूबाट थप सशक्तरूपमा माथि उठेको र कोभिड–१९ महामारीबाट पनि थप सबल पुनर्निर्माणका लागि एउटा स्पष्ट नीति सहित काम गरिरहेको नेपाल वास्तवमै उत्थानशीलताको एउटा बलियो दृष्टान्त हो,’ हार्टविग सेफरले भने ।
विकासका लागि नेपालको साझेदार हुनुमा विश्व बैंक गर्व गर्छ र नेपालको हरित, उत्थानशील र समावेशी पुनरूत्थानका लागि हामी सरकार, विकास साझेदारहरु, निजी क्षेत्र, नागरिक समाज, र अन्य प्रमुख सरोकारवालाहरु मिलेर काम गर्न प्रतिवद्ध छौं,’ उनले थपे ।
नेपालको हरित, उत्थानशील र समावेशी विकास ग्रिडसम्बन्धी गत असोज ७ गते विश्व बैंक नेपाल सरकार र विकास साझेदारहरुको उच्च स्तरीय सम्मेलनमा काठमाडौं घोषणापत्र जारी भएको थियो ।
उक्त घोषणापत्रले ग्रिड भिजनप्रतिको नेपाल सरकारको प्रतिबद्धतालाई उजागर गर्दै सम्भावित प्राथमिकता लगानी, बजार प्रोत्साहन र नीतिहरु, संस्थागत कार्य लगायतका क्षेत्रहरू तथा ग्रिडतर्फको नेपालको यात्राका लागि आवश्यक सूचनाहरूसहित साझेदारहरूको सहयोगलाई एकताबद्ध गरिएको छ ।
‘विकासको एक नयाँ आयाम तर्फ लम्केकोमा म नेपालको प्रसंशा गर्न चाहन्छु– त्यो नयाँ आयाम नेपालको हरित, उत्थानशील र समावेशी विकासको खाका अर्थात ग्रिड हो । ग्रिड अवधारणाले जनता, पृथ्वी र नेपालको अर्थव्यवस्थाका लागि छोटो, मध्यम, तथा दीर्घकालीन रूपमा फाइदा प्रदान गर्नेछ,’ सेफरले भनिन् ।
‘नेपालको दिगो विकासलाई सुदृढीकरण गर्नका लागि काठमाडौं घोषणापत्रमा समर्थन र सहयोग गर्न पाउँदा विश्व बैंक निकै हर्षित छ ।’ प्रादेशिक मुख्यमन्त्रीहरु र मेयरहरु, र निजी क्षेत्रका प्रतिनिधिहरुसँगको पनि बैठकहरुमा पनि उपाध्यक्ष सेफर सहभागी भएका थिए ।
उनले प्रस्तावित माथिल्लो अरूण जलविद्युत आयोजना निर्माणस्थल तथा प्रदेश नं १ मा ढल्केबर सबस्टेसनको पनि भ्रमण तथा अवलोकन गरेका छन् ।