काठमाडौं । कुमारी बैंक र यती एरलाइन्सबीच ‘स्वाइप एण्ड फ्लाई अभियान’ अन्तर्गत व्यfवसायिक सहकार्य गरिएको छ ।
बैंक र एयरलाइन्सबीच व्यfवसायिक साझेदारी गर्दै संयुक्त रुपमा नेपालमै पहिलोपटक ‘स्वाइप एण्ड फ्लाई अभियान’को सुरुवात गरेका हुन् । यती एयरलाइन्सको स्काई क्लब कार्ड र कुमारी बैंकको भिजा डेविट कार्ड (एटीएम कार्ड)लाई एकीकृत गरेर कुमारी स्काई क्लब ‘को–ब्राण्ड ’ कार्ड जारी गरिएको हो ।
कुमारी बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिनाले कुमारी स्काई क्लव कार्डका वाहकले अब हरेक खरिदमा यो कार्डबाट भुक्तानी गर्दा हवाई यात्रा नगर्दा पनि हवाई यात्रा गरे सरह नै निश्चित अङ्क प्राप्त गरिने भएकोले हवाई यात्रा गर्न कुमारी बैंकका ग्राहकहरुसमेत प्रोत्साहित हुने बताए ।
हवाई र वित्तीय क्षेत्रबीच यस किसिमको व्यवसायिक सहकार्य भिन्न शैलीमा नेपालमा पहिलोपटक भएको हो । एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनोज रिमालले बैंक र एयरलाइन्सका ग्राहकले जुनसुकै समयमा यो सुविधा प्राप्त गर्न सक्ने बताए । यस किसिमको सहकार्य दुबै पक्षका लागि नवीन र महत्वपूर्ण भएको रिमालको भनाइ छ ।
स्वाईप एण्ड फ्लाई अभियानले बैंकका ग्राहकले कुमारी स्काई क्लब कार्डबाट खर्च मात्र नभई खर्च गरे बापत प्वाइन्ट्स पनि कमाउने छन् । सो प्वाइन्ट्सबाट ग्राहकले यती एयरलाइन्सको निःशुल्क टिकट प्राप्त गर्न सक्नेछन् । उक्त अभियानले दुईवटा कार्ड बोकिरहन नपर्ने र एउटै कार्डले दुईवटा काम गर्ने यती एयरलाइन्सले जनाएको छ ।
एयरलाइन्सका व्यापार प्रमुख युवराज विष्टले बैंक र एयरलाइन्सको साझेदार ग्राहकले जुनसकै स्थानमा कार्डबाट भुक्तानी गर्दा प्वाइन्ट्स जम्मा हुने बताए । निश्चित माइलेज प्वाइन्ट्स जम्मा भइसकेपछि साझेदार ग्राहकहरुले सजिलै उपभोग गर्न सक्ने र आवश्यकतानुसार एयरलाइन्सले उडान भर्ने नेपालको जुनसुकै गन्तव्यमा निःशुल्क यात्रा गर्न पाउने व्यवस्था मिलाइएको उनकोभनाइ छ ।
कुमारी बैंकको डेविट कार्डबाट हरेक १०० रुपैयाँ भुक्तानी गर्दा १ प्वाइन्ट जम्मा हुनेछ । सेवाग्राहीको सुविधाका लागि विभिन्न साझेदारी संस्थासँग सहकार्य गर्दै आकर्षक सहुलियत कार्यक्रम गर्दै आएको बैंक र एयरलाइन्सले भविष्यमा पनि आफ्ना सेवाग्राहीहरुलाई प्रत्यक्ष लाभ हुने कार्यक्रमहरु थप गर्दै लगिने जनाएका छन् ।