काठमाडौं । चारवटा वाणिज्य बैंकमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) खाली भएको महिनौ बित्तिसकेको छ । बैंक कायममुकायम (कामू) सीईओको भरमा चलिरहेको छ । बैंक सञ्चालक समिति थाहै नपाएजस्तो गरी काम गरिरहेका छन् । नयाँ सीईओ नियुक्तिका लागि व्यवस्थापनले खासै चासो दिएको छैन ।
कुमारी, सेन्चुरी कमर्सियल, सिद्धार्थ र बैंक अफ काठमाडू (बीओके) मा सीईओ खाली भएको धेरै भए पनि सञ्चालक समितिहरुले डेपुटी सीईओलाई निमित्त दिएर बैंक चलाइरहेका छन् । खासगरी राष्ट्र बैंकले तीन महिनासम्म निमित्तकै भरमा बैंक चलाउन सक्ने नीतिगत सुविधा दिएकाले सञ्चालक समितिले त्यसैलाई प्रयोग गरिरहेका छन् ।
सञ्चालक समितिले हतारमा सीईओ नल्याउनुमा निमित्त सीईओलाई नै सीईओको जिम्मेवारी दिने, केही समय निमित्तबाटै काम चलाउँदा थोरै भए पनि सेवा सुविधा कटौती हुँदा खर्चमा सकारात्मक प्रभाव पर्ने र कतिपय बैंकले मर्जरमा जाने तयारीका लागि केही समय निमित्तकै भरमा बैंक चलाउन सके मर्जरमा थप सहजता प्राप्त हुने आंकलन गरेका छन् ।
अहिले पनि बीओके ग्लोबल आईएमईसँग मर्ज गर्ने हल्ला चलिरहेको छ । त्यस्तै हल्ला सेन्चुरीको नबिलसँग छ । राष्ट्र बैंकले पनि बैंकहरु मर्जमा जाने प्राथमिकता दिइरहेको छ र मौद्रिक नीतिमार्फत विभिन्न सुविधा दिएको छ । सरकारले पनि करमा छुट हुने नीतिलाई निरन्तरता दिएकै छ ।
तुलसीराम गौतमले सेन्चुरी छाडेको करिब ३ महिना पुग्न लागिसक्यो । गौतमले कार्यकाल बाँकी हुँदै असार २७ गते सीईओबाट राजीनामा दिएका थिए । लगत्तै मनोज न्यौपानेलाई निमित्त सीईओ दिइयो । उता, कुमारीका सीईओ सुरेन्द्र भण्डारी असार ३१ मा बिदा भए र अनुज तिमिल्सेनाले निमित्तको जिम्मेवारी पाए ।
साउन १८ गते सिद्धार्थबाट शम्भू गौतमले विदा लिए र सुन्दरप्रसाद कँडेललाई निमित्त पाए । साउन १९ गते बीओकेका सीईओ शोभनदेव पन्तले अवकाश लिएरपछि श्रवण मास्केलाई निमित्तको जिम्मेवारी दिइयो । तर, बैंकहरुले नयाँ सीईओ भित्र्याउने वा उनीहरुलाई नै पूर्ण जिम्मेवारी दिने भन्ने निर्णय गरिसकेका छैनन् ।
उता, थप ३ बैंकमा छिट्टै सीईओ खाली हुँदैछन् । २०७५ असार ७ मा नबिल बैंकका सीईओ नियुक्त अनिलकेशरी शाहको ४ वर्षे कार्यकाल सकिँदै छ । यद्यपि शाहलाई थप एक कार्यकाल थप्न सकिने सम्भावना छ । तर, नबिलका शाहभन्दा अघि नै सानिमा बैंकका सीईओ भुवनप्रसाद दाहाल दुई कार्यकाल पूरा गरेर बारिँदैछन् ।
पछिल्लो पटक २०७४ कात्तिक २७ मा दाहाल सानिमामा सीईओ भएका थिए । शाहले मेगा बैंकमा दुई कार्यकाल पुरा गरेपछि नबिलमा गएसँगै सीईओको जिम्मेवारी पाएकी मेगाकी सीईओ अनुपमा खुँजेलीको पनि पहिलो कार्यकाल पूरा हुन धेरै समय छैन । खँुजेलीसँग पुनः नियुक्त हुनसक्ने आधार रहे पनि बैंक व्यवस्थापनले निर्णय नगर्दासम्म यसै भन्न सकिन्न ।